१५ चैत्र २०८०, बिहीबार

राजधानी क्षेत्रमै छैन भरपर्दो स्वास्थ्य सेवा
  • न्युज मानसराेवर

देउखुरी\दाङको लमही नगरपालिका–६, देउपुरका प्रभात पौडेललाई विद्यालयबाट फर्कंदै गर्दा गाडीले ठक्कर दियो। गाडीको ठक्करबाट सामान्य घाइते पौडेलको छाती र मुखमा चोट लाग्यो, लमहीमा सामान्य उपचारपछि उहाँलाई बुटवल पु-याएर उपचार गरियो।

सोही ठाउँकी शान्ता चौधरी हात झमझमाउने समस्या लिएर लमही अस्पतालमा गइन । परीक्षण भयो, औषधि खानुभयो तर निको भएन। थप सुविधाका लागि बुटवल पुगिन ।यी दुई उदाहरण मात्र हुन्। दाङ देउखुरीमा भरपर्दो स्वास्थ्य सेवा नपाउँदा यहाँका सेवाग्राही सदरमुकाम घोराही र जिल्लाबाहिरै बुटवल र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छैन।

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रमै सामान्य सेवा सुविधासमेत नपाउँदा सेवाग्राही स्वास्थ्य क्षेत्रमा तीन तहकै सरकार उदासीन रहेको आरोप लगाउँछन्। राजपुर गाउँपालिका–४ का गङ्गाराम यादव स्थानीयस्तरमा आफूहरूले स्तरीय सेवासुविधा पाउने कुरा सपना नै भएको बताउछन।

देउखुरी उपत्यकामा चारवटा पालिका छन्। सबै पालिकामा रहेका अस्पताल र स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको व्यवस्था पनि छ तर सेवा भरपर्दो छैन। लमही नगरपालिका मातहत रहेको लमही अस्पतालमा सरकारी दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नै छैनन्।

सहयोगी संस्था निक साइमनले उपलब्ध गराएका स्वास्थ्यकर्मीका भरमा अस्पताल सञ्चालन भएको छ। अस्पतालमा एक एमडी मेडिकल सुपरिन्टेन्डेन्ट र दुई मेडिकल अधिकृतको दरबन्दी भए पनि अहिले तीनै जना डाक्टर काममा छैनन्। एक मेडिकल अधिकृत अध्ययन बिदामा रहेका र बाँकी दरबन्दीअनुसारको जनशक्ति पूर्ति नभएको लमही अस्तालका निमित्त प्रमुख बबी महत बताउछन।

यसैगरी अन्य शाखामा एक्स–रे, ल्याब, प्रसूति, इमर्जेन्सीलगायतमा पनि दरबन्दीअनुसारका स्वास्थ्यकर्मी छैनन्। सरकारी दरबन्दी नभएको स्थानमा समितिका तर्फबाट स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। गढवा गाउँपालिकामा पनि अवस्था यस्तै छ।

गाउँपालिकाले एमबीबीएस डाक्टरको व्यवस्था गरे पनि अन्य सेवासुविधा भरपर्दो छैन। राप्ती गाउँपालिकामा दुईवटा अस्प्तालमा छन् र प्रस्तावित अस्पताल भालुवाङ, सिसहनियाँ अस्पताल छ। भालुवाङमा निक साइमन नामक संस्थाले दुई डाक्टरको सुविधा दिएको छ। सिहनियाँ अस्पतालमा राप्ती गाउँपालिकाले एक डाक्टरको व्यवस्था गरेको छ।

देउखुरीमा हुँदैन पोस्टमार्टम

दुर्घटना वा विभिन्न कारणले मृत्यु भएपछि पोस्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भए पनि देउखुरीमा रहेका चारवटा पालिकाभरि नै पोस्टमार्टमको सुविधा छैन। पोस्टमार्टमका लागि पोस्टमार्टम घर र तालिमप्राप्त जनशक्ति आवश्यक पर्ने भएकाले आफूहरूले पोस्टमार्टमको काम गर्न नसकेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी गराएका छन।

लमही अस्पतालमा विगतमा पोस्टमार्टमको काम हुने गरे पनि अहिले दरबन्दीअनुसार डाक्टरसहितका स्वास्थ्यकर्मी उपलब्ध नहुँदा पोस्टमार्टमको काम हुन सकेको छैन। पोस्टमार्टम नहुँदा शव बोकेर घोराही जानुपर्ने बाध्यता छ। लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले पोस्टमार्टमको काम नभए पनि पालिका तहबाट दिलाउनुपर्ने अन्य स्वास्थ्य सेवा सुविधा दिइरहेको जानकारी गराए ।

पोस्टमार्टमको काम नभए पनि प्रसूति सेवा, ओपीडी सेवा, सामान्य शल्यक्रिया सेवालगायतका प्रभावकारी सेवा उपलब्ध गराइरहेको लमही अस्पातलको दाबी छ। लमही अस्पतालका निमित्त प्रमुख बबी महतले सेवाग्राहीको इच्छा ठूला र प्रभावकारी सेवा सुविधा प्राप्त गर्नु भए पनि पालिकास्तरबाट दिनुपर्ने सेवा सुविधाभन्दा बढी सुविधा लमही अस्पतालले दिइरहेको दाबी गरेका छन।

  • १४ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech