५ जेष्ठ २०८१, शनिबार

मायादेवी मन्दिरमा कोरियाका १२५० जनाले गरे दर्शन
  • न्युज मानसराेवर

लुम्बिनी– गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन बृद्धि भएको छ। आइतबार दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको नेतृत्वमा १२५० विद्याथीहरूको समूहले मायादेवी मन्दिरको दर्शन गरेका छन्।

बौद्ध भिक्षु सुनिम, शिक्षक, लेखक, वातावरणविद्, सामाजिक अगुवाका रूपमा दक्षिण कोरियामा परिचित छन्। भिक्षु सुनिमको नेतृत्वमा ठूलो समूहलाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न पाउनु लुम्बिनीको गौरव भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बताए।

उपाध्यक्ष मैत्तयले दक्षिण कोरियाबाट आएका भिक्षु सुनिमसहित १२५० जना विद्यार्थीहरूलाई लुम्बिनीमा स्वागत गर्दै बुद्धका उपदेशबारे प्रवचन दिए। मायादेवी मन्दिरको दर्शनपछि साँझ कोरियाली विहारमा ध्यानसहित प्रवचन कार्यक्रम गरिएको थियो। करिब १ घण्टासम्म मायादेवी मन्दिरमा कोरियन दर्शनार्थीहरूको लाम लाग्यो।

कोरिया दर्शनार्थीहरूले बुद्ध जन्मस्कार शिला (मार्कर स्टोन), अशोक स्तम्भ, पवित्र पुष्करिणीको अवलोकन गर्दै लामबद्ध भएर दक्षिण कोरियाबाट आएका पोखरी मायादेवी मन्दिरभित्र रहेको मार्करस्टोन, पवित्र बगैंचा क्षेत्र, शान्तिदीप तथा विहारक्षेत्रको अवलोकन गरे।

टोलीले भारतस्थित बोदगया, शारदानाथ, कुशिनगरको भ्रमण गरी लुम्बिनी आएको हो। यो टोली सोमबार बुद्धले २९ बर्ष बिताएको कपिलबस्तुको तिलौराकोट क्षेत्रको अवलोकन गर्ने कार्यतालिका छ।

कोभिड महामारीपछि लुम्बिनीमा क्रमश पर्यटकहरूको आवागमन बृद्धि हुन थालेको छ। लुम्बिनीमा २०२२ मा ९ लाख ३ हजार ८ सय ८३ जनाले भ्रमण गरेका थिए। सन् २०२१ मा ५ लाख ८ हजार ८ सय ९२ जनाले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech