५ जेष्ठ २०८१, शनिबार

स्वास्थ्यमन्त्री पन्थी र लुम्बिनी विकास कोषको टोलीद्वारा बुद्धस्थलको अवलोकन
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले कपिलवस्तुमा रहेका बुद्धस्थलको अवलोकन गरेको छ। कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो।

टोलीमा बुद्धस्थलको विकास तथा त्यससँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्री सहितको टोलीले बुद्ध स्थलको अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिएका छन।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित सांसदसमेत रहेका मन्त्री पन्थीले गौतम बुद्धको घर नै कपिलवस्तु भएकाले यहाँका बुद्धस्थलको संरक्षणसँगै प्रवर्द्धनका लागि अवलोकन भएको बताएका छन।

मन्त्री पन्थीले बुद्धस्थललाई जोडेर पर्यटक आकर्षित गर्न अन्य पर्यटन संरचना निर्माण गर्ने पहल भइरहेको बताए । सङ्घीय, प्रदेश र स्थानीय सरकार, लुम्बिनी विकास कोष र  अन्तर्राष्ट्रिय दातृ निकायलाई जोडेर कपिलवस्तुका बुद्धस्थल क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल थालिएको उनले   बताए । मन्त्री पन्थीले कपिलवस्तुमा विश्वकै ठूलो बुद्धमूर्ति स्थापना गरिने समेत जानकारी गराए।

टोलीमा बुद्धमूर्ति स्थापना गर्ने दातृ निकाय वर्ल्ड  बुद्धिष्टि रिलिजन एसोसिएसनका उपाध्यक्ष चेङ की सेङ्जको उपस्थिति थियो।

एसोसिएसनले कपिलवस्तुमा विश्वकै ठूलो बुद्धमूर्ति स्थापनाको प्रस्ताव ल्याएको छ। उक्त प्रस्तावपछि मन्त्री सहितको टोलीले कपिलवस्तु नगरपालिका ९ स्थित बाणगंगा नदी उकास क्षेत्र जर्लैया सम्भावित बुद्धमूर्ति स्थल हुनसक्ने भन्दै देखाइएको छ।

नदी उकास क्षेत्रको अवलोकनअघि कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलसँग छलफल गरिएको थियो। त्यस्तै जगदीशपुर तालको समेत अवलोकन गरिएको थियो। सगरहवामा फागुन २३ गतेदेखि गर्न लागिएको कपिलवस्तु राष्ट्रिय मूर्तिकलाका कार्यशाला तयारीको सम्बन्धमा पनि लुम्बिनी विकास कोषले जानकारी लिएको छ।

मन्त्री पन्थीसहित लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका पुरातत्त्व विभागका प्रमुख हिमाल उप्रेती, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष दीपक गुरुङ, वर्ल्ड बुद्धिष्टि रिलिजन एसोसिएसनका उपाध्यक्ष चेङ की सेङ्ज, कोषका कपिलवस्तु शाखा प्रमुख माधवप्रसाद आचार्य,  पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिति रहेको थियो।

  • ६ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech