२६ बैशाख २०८१, बुधबार

साना व्यवसायमा लगानी गर्दै नेपालगञ्ज उपमहानगर
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा विपन्न समुदायका व्यक्तिद्वारा सञ्चालित साना उद्यम व्यवसायमा लगानी गरिरहेको छ । साना व्यापार व्यवसाय सञ्चालन गर्ने लक्षित समुदायका व्यक्तिलाई साझेदारी विकास कार्यक्रमअन्तर्गत ५ वर्षदेखि लगानी गर्दै आएको नेपालगञ्ज उमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

उपमहानगरपालिकाले साझेदारी विकास कार्यक्रमका लागि यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ भने संघीय सरकारमार्फत आएको ५० लाख रुपैयाँ पनि सोही कार्यक्रमका लागि छुट्ट्याएको छ ।

उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा पहिलो चरणमा ४८ जना साना व्यवसायीलाई ८० लाख रुपैयाँ लगानी गरेको छ । उपमहानगर प्रमुख विष्टका अनुसार प्रजातन्त्र दिवसको अवसरमा वडा नं ४, ७, ८, ९, ११ र २० का साना व्यवसायीलाई लगानी गरिएको हो । उनीहरूलाई २५ हजारदेखि २ लाख रुपैयाँसम्म प्रदान गरिएको छ ।

साझेदारी विकास कार्यदलका संयोजक एवं नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कौशलकुमार धोबीले उक्त रकम वितरण गरेका हुन् । सानो व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिलाई आर्थिक सहजताका लागि रकम वितरण गरिएको उनले बताए । नेपालगञ्ज उपमहानगरपालिकाले समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएका वर्ग र अल्पसंख्यकको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गर्दै आएको छ ।

५ वर्षमा करीब ५०० जना साना व्यवसायीलाई ४ करोड रुपैयाँ लगानी गरिसकेको साझेदारी विकास कार्यदलका संयोजक धोबीले जानकारी दिए ।  उक्त रकम वार्षिक १० प्रतिशत ब्याजदरमा प्रदान गरिएको हो । उक्त कार्यक्रमबाट रकम लिएका व्यवसायीले १८ महीनामा चुक्ता गर्नुपर्ने प्रावधान छ । नेपालगञ्जले विनाधितो उक्त लगानी गरिरहेको छ ।

  • ९ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech