५ जेष्ठ २०८१, शनिबार

चैत पहिलो साता नेपालगन्जमा फोटोग्राफी समिट हुने
  • न्युज मानसराेवर

बाँके\आगामी चैतको पहिलो साता बाँकेको नेपालगन्जमा ‘नेपाल फोटोग्राफी समिट’ गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १११ जना फोटो पत्रकार र फोटोग्राफरहरू सहभागी हुनेछन् ।

‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ,’ समिटका परिकल्पनाकारसमेत रहेका अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्तादेखि अग्रज व्यक्तित्वहरूको अभूतपूर्व जमघट हुनेछ ।’

तेस्रो नेपालगन्ज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट सम्भवतः नेपालमै पहिलो पटक हो । विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहनु फोटोग्राफरहरू र सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।

‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्यधुनिक डिजिटल प्रविधिका क्यामेरा, गोप्रोदेखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाउँको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ ।

समिटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरू, फोटोग्राफीका चुनौतीबारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरू आयोजना हुनेछन् । जसले गर्दा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

समिटमा ११ जना अग्रज फोटोपत्रकार/फोटोग्राफरहरू विशेष अतिथिको रूपमा सहभागी हुनेछन् भने देशका विभिन्न स्थानवाट ५० जना सहभागी हुन पाउने छन्, जसका लागि नाम दर्ता गर्नुपर्नेछ । यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थीसमेत) सहभागी हुनेछन् ।

‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरूको साझा फोरम बन्नेछ,’ अन्तरालका जयनारायण शाहले भने, ‘समिटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारासमेत अभिवृद्धि गर्नेछ ।’

  • ११ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech