१५ बैशाख २०८१, शनिबार

रुपन्देहीका दुई क्याम्पसमा विद्यार्थीले लगाए तालाबन्दी
  • न्युज मानसराेवर

बुटवल\रुपन्देहीका दुई क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । शुक्रबार स्ववियु निर्वाचनका विषयमा २ क्याम्पसका निर्वाचन अधिकृतको कार्यालय र क्याम्पसमै विद्यार्थीले ताला लगाएका हुन् ।

बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस र देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले ताला लगाएका हुन्।बुटवलको सिद्धार्थ क्याम्पसमा आफ्नो संगठनलाई दर्ता गर्न नदिएको भन्दै राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको हो ।

शुक्रबार दिउँसो ३ बजेसम्म विद्यार्थी संगठनहरुको नाम दर्ता गर्ने समय रहेपनि २ बजे अगाडि नै नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए ।

क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईंले नियतवश संगठनको नाम दर्ता नगरेको नभई ढिलो आएकाले दर्ता नभएको बताए । क्याम्पस प्रमुख विष्णु रानाले शनिबार बिहान वैठक बसेर दर्ता गर्ने।नगर्ने निर्णय गरिने बताए ।

यस्तै देवदह नगरपालिकामा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा पनि तालाबन्दी गरिएको छ। शुक्रबार क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन आचारसंहिता विपरीत टेन्ट र माइकको प्रयोग गरी क्याम्पस प्राङ्गणमा तडकभडक गरेको र त्यसको विरुद्ध क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसकेको आरोप लगाउंदै तीन संगठनले ताला लगाएका हुन् ।

कार्यक्रमबारे क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई बारम्बार जानकारी गराउँदा पनि वास्ता नगरिएकोले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने निर्णय गरेको नेविसंघका इकाई सभापति देवीलाल ढकालले बताए।

क्याम्पसमा क्रियाशील नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन्।

  • २० फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech