४ जेष्ठ २०८१, शुक्रबार

सामुदायिक विद्यालयको स्तर उन्नत गर्दै ठाकुरबाबा नगरपालिका
  • न्युज मानसराेवर

बर्दिया\ठाकुरबाबा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा विद्यार्थीलाई एकै प्रकारको शिक्षा, पोसाक, टाई र बेल्टको व्यवस्था गरेको छ । नगरभित्रका विद्यालयमा एकरुपता ल्याउन यसै शैक्षिक सत्रबाट यो नियम लागू गरेको नगरपालिकाले जनाएको छ ।

विद्यार्थीका लागि टाई र बेल्ट नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । यसका लागि १० लाख बजेट छुट्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताए । शिक्षामा ७ करोड बजेट छुट्टाएका छौं,’ उनले भने, ‘कक्षा १ देखि ९ सम्म यसै शैक्षिक सत्रबाट अंग्रेजी शिक्षालाई अनिवार्य गरिएको छ ।’ यसबाट निजी विद्यालयमा अध्ययन गर्न चाहने अभिभावकको मोह घट्ने अनुमान स्थानीयले गरेका छन् । ठाकुरबाबा नगरपालिकामा सामुदायिकतर्फ ११ हजार र निजी विद्यालयमा ४ हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिकतर्फ स्थायी, अस्थायी र करार गरी २ सय ६१ शिक्षक रहेका छन् । तीमध्ये करारका १ सय ३१ जना शिक्षक अध्यापन गराउँदै आएका छन् ।

ठाकुरबाबा नगरपालिकामा कक्षा १ मा १ हजार १ सय र कक्षा १० मा १ हजार १ सय ४७ विद्यार्थी अध्ययन गर्छन । यस शैक्षिक सत्रदेखि करारका शिक्षकको कार्य सम्पादन मूल्यांकन प्रभावकारी नभए म्याद थप नगरिने नगर प्रमुख तिलकराम लम्सालले बताए ।

कार्य सम्पादन मूल्यांकनको आधारमा स्थायी शिक्षकको हकमा स्पष्टीकरण, लगायतका कारबाही हुने छ,’ उनले भने, ‘विगतमा जे भयो अब त्यसरी विद्यालय नचल्ने भएकोले शिक्षकले शिक्षाको गुणस्तरमा कुनै कमी आउन नदिन कठोर बन्ने छौं ।’ शिक्षाको गुणस्तर र परीक्षामा राम्रो नतिजा ल्याउने शिक्षकलाई नगदसहित पुरस्कृत गरिने भएको छ । पालिकाले ल्याएको नीतिले शिक्षाको गुणस्तर र गुणस्तर वृद्धि हुने चुरे माध्यमिक विद्यालयका शिक्षक यज्ञ नेपालले बताए ।

  • १३ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech