४ जेष्ठ २०८१, शुक्रबार

सिकलसेल र थालेसेमियाबारे सचेतना फैलाउँदै कोहलपुर
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयबासीलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत पारिएको छ । कोहलपुर नगरपालिकाले बुधवार आयोजना गरेकोअभिमुखिकरण कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा.राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले मानिसलाई पुर्याउने दीर्घकालीन हानी, योबाट जोगिने उपायबारे सचेत गराए ।

वंशाणुगत यो रोगबाट जोगिने उपाय भनेकै बिहेबारी पूर्व रगत जाँच गरि सिकलसेल र थालेसेमिया भए नभएको पुष्टि गर्नु पर्ने डा पाण्डेको भनाइ छ । उनले यदि रोगी र बहाक फेला परे रोगी–रोगी र बहाक–बहाकका बीचमा हुने बिहेबारी रोक्ने हो भने भावी पुस्तालाई सिकलसेल तथा थालेसेमियाबाट जोगाउन सकिने बताए ।

उनले रोगी र बहाक बीचमा पनि बिहेबारी गर्न नहुने सुझाव दिए । बाहकले स्वस्थ व्यक्तिसँग बिहे गरे भावी पुस्तामा सिकलसेल तथा थालेसेमिया रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । उनले थारु समुदायमा सिकलसेल र थालेसेमिया रोग जनस्वास्थ्य समस्याका रुपमा रहेको उल्लेख गरे । अन्य समुदायमा पनि यो रोग देखिएपनि थारु समुदायमा बढि छ ।

सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभु चौधरीले सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन यसको जाँच गर्न जरुरी रहेको बताए । उनले थारु समुदायमा सिकलसेलको बढी प्रभाव पर्नुको कारणबारे समेत जानकारी गराए ।

कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीले सिकलसेल र थालेसेमियाका रोगीहरुको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गराइदिने बताइन् ।

रोगीहरुको उपचारमा सहजता पुगोस् भन्ने उद्देश्यले आगामी आर्थिक वर्ष ०८०/०८१ देखि रोगीहरुको पालिकाले स्वास्थ्य बीमा गरिदिने र त्यसको बीमा वाफतको रकम पालिकाले तिरिदिने उनको भनाइ छ । उनले कुनै पनि नागरिक उपचार अभावमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा पालिका चनाखो रहेको भन्दै पालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताइन् ।

कोहलपुर नगरपालिका–४ का वडा अध्यक्ष मुबारक अलि गुल्जारको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य पबित्रा थारु, वडा सदस्य नजर अलि गडुवा, रामदुलारी वांसी, नगर अस्पतालमा कार्यरत डा.रवी वाग्ले, नगर स्वास्थ्य प्रबर्द्धन केन्द्रका डा.गोबिन्द प्रसाद थारु, रझेना आधारभूत स्वास्थ्य केन्द्रका भुपेस खत्री, शिक्षक छविलाल केसी सहित स्थानीयबासी, बिद्यार्थी लगायतको सहभागिता रहेको कोहलपुर नगरपालिकाका ल्याव प्रमुख शिव गौतमले जानकारी दिए ।

  • १३ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech