४ जेष्ठ २०८१, शुक्रबार

नगरपालिकाले बिमा गरेपछि मजदुरलाई उपचारमा सजिलो
  • न्युज मानसराेवर

पाल्पा\ पाल्पाको रामपुर नगरपालिकाले मजदुरको बिमा गरिदिएपछि मजदुरलाई उपचारमा सजिलो भएको छ। मजदुरको हकहित र सुरक्षाका लागि नगरपालिकाले बिमा गरिदिएपछि उपचारमा सजिलाे भएकाे भन्दै मजदुर खुसी छन्।

घर तथा भवन निर्माणको क्षेत्रमा जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम गत वर्षदेखि नै सुरु गरेको हो।

नगरपालिकाले ‘पूर्वीपाल्पा मजदुर व्यवस्थापन समिति’सँग समन्वय गरेर संस्थागत रूपमा मजदुरको बिमा गरेको हो। बिमा कार्यक्रमले मजदुरलाई धेरै राहत पुगेको रामपुर-५ कृषिटोल बस्ने श्यामकुमार श्रेष्ठले बताए। उनी निर्माण क्षेत्रमा विगत ७ वर्षदेखि काम गर्दै आएका छन्।

केही समय अघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर उनी घाइते भएका थिए। नगरपालिकाले बिमा गरेका कारण सबै उपचार खर्च बिमामार्फत पाएको उनले बताए। ‘काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदुरवर्गलाई चोटपटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो,’ उनले भने, ‘बिमा गरेपछि उपचार खर्च मजदुरले व्यहोर्नु परेन।’

नगरपालिकाले ल्याएको बिमा कार्यक्रमले आफूहरूलाई निकै राहत दिएको उनको भनाइ थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म ५ सय ४३ जना मजदुरको दुर्घटना बिमा गरिएको बताए।

निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ थियो।

निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका लागि गत वर्ष जेठदेखि प्रतिव्यक्ति ३ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा कार्यक्रम सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए। ‘जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदुरको सुरक्षाका लागि गत वर्षदेखि दुर्घटना बिमा सुरु गरेका छौँ,’ उनले भने, ‘नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ। मजदुरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ।’

मजदुरको हकहित र अधिकारका लागि २०७२ मा पूर्वीपाल्पा मजदुर व्यवस्थापन समिति स्थापना गरी मजदुरको हितमा काम गर्दै आएको छ। स्थापना भएपछि समितिले मजदुरको जोखिम कामलाई दृष्टिगत गर्दै १ लाख रुपैयाँसम्मको दुर्घटना बिमा गर्न सुरु गरेको थियो।

भवितव्य हुने ठूला दुर्घटनालाई ध्यानमा राख्दै नगरपालिकासँग समन्वय गरेर ३ लाख रुपैयाँ बराबरको बिमा कार्यक्रम उक्त समितिले सञ्चालन गरेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारीले बताए। ‘सानातिना दुर्घटनाको उपचार खर्च समितिले १ लाख रुपैयाँसम्मको गरिदिएको बिमाले पुगे पनि ठूला घटनालाई बाँकी रकम मजदुर आफैले जुटाउनुपर्दा उपचारमा समस्या हुने गरेको थियो,’ उनले भने, ‘दैनिक ज्यालादारीले बिहान साँझको जीविका धान्न धौधौ पर्ने मजदुर आर्थिक अभावमा उपचार पूरा गर्न नपाएर बस्नु नपरोस् भनेर समितिको आग्रहअनुसार नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो।’

समितिले सुरु गरेको दुर्घटना बिमा कार्यक्रममार्फत हालसम्म ७० जना मजदुरले लाभ लिएका छन्।

कामको आधारमा एक दिनको न्यूनतम ६ सय ५० रुपैयाँदेखि बढीमा १ हजार २ सयसम्म ज्याला पनि समितिले नै तोकिदिएको छ। तोकेअनुसारको ज्याला नपाएमा तत्काल समितिले सम्बन्धित निर्माण व्यवसायीलाई कायम गरिएको ज्याला तथा पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिने गरेको छ। रासस

  • १९ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech