१५ चैत्र २०८०, बिहीबार

राप्ती नदीमा कृत्रिम उद्धार अभ्यास
  • न्युज मानसराेवर

बाँके\ वर्षाको मौसम नजिकिँदै गर्दा बाँके जिल्लामा बाढी र डुबान विरुद्ध आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ ।

हरेक वर्ष वर्षाको समयमा राप्ती नदी लगायत विभिन्न खोलामा आउने बाढी र डुबानबाट ठुलो धनजनको क्षति हुने गरेकोले न्यूनीकरणको विभिन्न तयारी भइरहेको छ । सो क्रममा बाढी र डुबानको बेला गरिने उद्धार कार्यको तयारी र अवस्था बुझ्नका लागि आइतबार डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीमा जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले उद्धार अभ्यास गरेको छ ।

राप्ती नदीको पुल छेउमा गरिएको कृत्रिम अभ्यासमा बाढी आएर मानिसहरू डुबानमा परे भने उनीहरूको उद्धार गर्ने सम्बन्धमा समितिले गरेको तयारीलाई कृत्रिम अभ्यास मार्फत देखाइएको हो ।

जिल्ला विपत् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको उपस्थितिमा सम्पन्न भएको कृत्रिम अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर सुरक्षाकर्मी तथा रेडक्रसका कर्मचारी लगायत स्वास्थ्यकर्मीहरुले भाग लिएका थिए ।

सो कृत्रिम अभ्यासमा बाढीमा डुबेका मानिसको उद्धार, उद्धार पछि उनीहरूलाई छेउमा ल्याई प्राथमिक उपचार र गम्भीर अवस्थामा रहेकालाई एम्बुलेन्स मार्फत अस्पतालसम्म पुर्‍याउने अभ्यास गरेर देखाइएको थियो ।

जिल्ला विपत् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले वर्षाको बेलामा राप्ती नदीमा आउने बाढी र डुबानबाट हुने क्षति न्यूनीकरणका लागि अहिलेबाटै आवश्यक तयारी गर्न थालिएको जनाउँदै उद्धार टोली र उद्धार सामाग्रीको व्यवस्थापन गरिएको बताए । यस्तै, बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बाढी र डुबानको उच्च जोखिम रहेका ठाउँहरूको पहिचान गरेर त्यहाँ बढी केन्द्रित हुन सुरक्षाकर्मीहरूलाई निर्देशन दिई सकिएको बताए । उनले प्रशिक्षित उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको र सबै ठाउँमा उच्च सतर्कता अपनाउन अहिलेबाटै सूचना गरिएको पनि जनाए ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी प्रमुख राठौर लगायत रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सम्झना, नेपाली सेनाको वज्रदल गणका प्रमुख श्याम आत्रेय पौडेल, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो लगायत ठुलो सङ्ख्यामा विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

  • २१ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech