६ श्रावण २०८१, आईतवार

अमेरिका र बेलायतबाट आउने पर्यटक बढ्दै
  • न्युज मानसराेवर

बाँके\नेपाल आउने विदेशी पर्यटकमा भारतीय पहिलो र चीन दोस्रो स्थानमा रहँदै आएको विगतको तथ्यांकले देखाउँछ । तर, सन् २०२३ को शुरूदेखि भने चीनलाई अमेरिकी र बेलायतीले उछिन्न थालेका छन् ।

सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आउँदा अन्य महीनाको तुलनामा अमेरिका र बेलायतबाट आउनेको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । अक्टोबर अमेरिकाबाट १४ हजार ८७९ पर्यटक आएका हुन् । बेलायतबाट ८ हजार २१७ जना आए । यो महीना चीनबाट ६ हजार ८८० जना हवाई मार्गबाट नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ ।

बोर्डका अनुसार सेप्टेम्बरको तुलनामा अक्टोबरमा अमेरिका र बेलायतबाट आउनेको संख्या बढ्दा भारत र चीनबाट आउनेको संख्यामा घटेको छ । मुलुकमा पर्यटकीय सिजन शुरू भएको महीनादेखि नै पर्यटक आगमनमा सुधार देखिएको व्यवसायीले बताएका छन् ।

ट्रेकिङ/पदयात्राको प्रमुख सिजन मानिने यो बेला हिमाल आरोहणका लागि पनि उनीहरू आएको व्यवसायीले बताए । पदयात्राका लागि बेलायती र अमेरिकी बढी आउने गरेको होटेल एसोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । यो सिजन पदयात्राका लागि उपयुक्त मानिने भएकाले अन्य देशको तुलनामा ती देशबाट बढी पर्यटक आएको उनको भनाइ छ ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा सबैभन्दा धेरै पर्यटक आउने देशमा क्रमश: भारत, अमेरिका, बेलायत र चीन छन् । यी देशबाहेक अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटलीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका छन् ।

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech