बैजनाथ\ बैजनाथ गाउँपालिका स्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य संस्था जन्य फोहोर प्रशोधन कक्षमा राखिएको अटोक्लेभ मेसिन थन्किएको पाइएको छ । बैजनाथ गाउँपालिका गेरुवा ग्रामीण जागर संघ संस्थाको साझेदारीमा दश लाख लागतमा खरिद गरिएको अटोक्लेभ मेसिन थन्किएको हो । उक्त मेसिन खरिदमा एक लाख ५० हजार बैजनाथ गाउँपालिका र ८ लाख ५० हजार गेरुवा ग्रामीण जागर संघ संस्थाको सहयोगमा खरिद गरिएको थियो ।

स्वास्थ्यजन्य फोहोरहरुको निर्मलीकरण गरी व्यवस्थापन गर्न खरिद गरिएको उक्त अटोक्लेभ मेसिन गत आर्थिक वर्ष २०७९ जेष्ठ महिना देखी संचालनमा ल्याइएको थियो । लामो विदा र कर्मचारीहरुको उचित व्यवस्थापन गर्न नसक्दा मेसिन थन्किन पुगेको बैजनाथ गाउँपालिका वडा नं.५ का अध्यक्ष देव बहादुर रावतले स्विकार गरेका छन।
आफु उपचारका निम्ति काठमाडौ आएको बताउदै आफु फिर्ता भएपछि व्यवस्थापन समितिको बैठक राखेर तत्काल कर्मचारी व्यवस्थापन गरी एक हप्ता भित्र उक्त मेसिन संचालनमा ल्याउने रावतले भनेका छन।
रावत उक्त बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष समेत हुन। रावतले मेसिन खराब हुँदा त्यसका निम्ति मर्मत खर्च समेत वडाबाट छुट्याइएको समेत बताएका छन।
बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई बार्षिक ७ लाख ५० हजार व्यवस्थापन खर्च शिर्षकमा रकम पठाउने गरेको बताएका छन।
स्वास्थ्य शाखा प्रमुख शाहीले उक्त मेसिन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र स्वास्थ्य शाखा बैजनाथले बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेकाले त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी उक्त समितिको हुने समेत बताएका छन।













