बुटवल\नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय राजदूतावासले शुक्रबार महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो।
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्धाटन गरेका हुन्।
कार्यक्रममा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताए। शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई यस्ता महोत्सवले अझ सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा यस्ता महोत्सव आयोजना गरिने बताउँदै त्यसबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानकारी हुने र त्यसले एकअर्कालाई नजिक ल्याउन सहयोग गर्ने बताए।
स्याण्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी शनिबार पनि खुला रहनेछ। भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो महोत्सव अब हरेक वर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरुलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने निर्णय गरिएको छ। महोत्सवले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको छ।’













