८ मंसिर २०८१, शनिबार

मेयर कप फुटबलः राम जानकी, लक्ष्मी र सुर्योदय मावि विजयी
  • न्युज मानसराेवर

नेपालगञ्ज: राम जानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सुर्योदय मावि चिसापानीले नेपालगञ्जमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा आज जीत हासिल गरेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा राम जानकी माविले सहजै ब्राइटल्याण्ड स्कुललाई ११–१ ले पराजित गरेको छ । राम जानकीको तर्फबाट महेश विकले ह्याट्रिक गरे । उनले खेलको ११औं, ४०औं र ४७औं मिनेटमा गोल गरेका थिए । राम जानकीको लागि अमित थापाले दुई गोल गरे । उनले १४औं र ३२औं मिनेटमा गोल गरे । टोलीका लागि अनिल कुमार मगरले २५औं र ३४औं मिनेटमा गरी दुई गोल गरे । यसैगरी रामजानकीका लागि रिजन कठायतले २०औं मिनेट र गणेश आलेले २६औं मिनेटमा गोल गरे ।

ब्राइटल्याण्डको तर्फबाट तीन मिनेटमा एउटा आत्मघाती गोल भएको थियो । यसैगरी रामजानकीका खेलाडीले ४५औं मिनेटमा आत्मघाती गोल गरेका थिए । खेलमा ह्याट्रिक गोल गरेको रामजानकीका महेश विक खेलको म्यान अफ द म्याघ घोषित भए । खेलको म्यान अफ द म्याच बन्न सफल महेश विकलाई राप्रपा नेपालका सहायक महामन्त्री, बुद्ध युवा क्लबका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह र ठूली भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले पुरस्कृत गरे ।

अर्को खेलमा लक्ष्मी माविले एविसी रेसिडेन्सियल स्कुललाई ३–२ ले पराजित गरेको छ । खेलमा लक्ष्मीका आर्यन केसीले १३औं र २३औं मिनेटमा गरी दुई गोल र अभिनन्दन शाहीले ३६औं मिनेटमा गोल गरे । एविसीका लागि सुजन ओलीले दुई मिनेट र आठ मिनेटमा गोल गरेका थिए । खेलमा लक्ष्मीका आर्यन केसी म्यान अफ द म्याच घोषित भए । केसीलाई संविधानसभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य, नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटल र नेपालगञ्ज हेल्थ क्याम्पसका अध्यक्ष मैकुलाल वाल्मिकीले पुरस्कृत गरे ।

सोमवार भएको तेस्रो खेलमा सुर्योदय मावि चिसापानीले राम मावि कोहलपुरलाई ४–० ले पराजित गरेको छ । सुर्योदयको जीतमा सम्राट सुनारले ३२औं र ५४औं मिनेटमा गोल गरे । टोलीका लागि क्षितिज बुढाले चार मिनेट र पुरन थापाले ४०औं मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्योदयका कप्तान विपन बुढा म्यान अफ द म्याच घोषित भए । म्यान अफ द म्याच बन्न सफल विपन बुढालाई नेपाल इ–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष कुमार सिंह ठकुरी र खेलपाटी डटकमका सम्पादक हिमबिक्रम केसीले पुरस्कृत गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा जिभिएन कलेज र नेपालगञ्ज सेन्ट जेभियर्स (११ः३० बजे), अमर मावि सिगाउँ र आदर्श इंग्लिश मिडियम स्कुलबीच दोस्रो खेल (१ः०० बजे) हुनेछ । आजको तेस्रो खेलमा धम्बोझी मावि र आदर्श मावि खजुरा बीच (२ः३० बजे) प्रतिस्पर्धा हुनेछ ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech