नेपालगन्ज: सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने नयाँ नयाँ तरिकाहरु अपनाउदै आएको पाईएको छ ।
कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य मानव शरीरका विभिन्न ठाउँमा लुकाएर लागूऔषध भित्र्याउँदै आएका तस्करले पछिल्लो पटक लागूऔषध ब्राउन सुगरलाई आलुको दानाभित्र लुकाएर भित्र्याउन खोजेको पाइएको छ।
आलु काटेर त्यसभित्र लागूऔषध ब्राउन सुगर लुकाएर फेरि आलुलाई जोडेर भित्र्याउन खोज्ने दुई जनालाई ब्राउन सुगरसहित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
प्रहरीले नेपाल–भारतको सीमा क्षेत्र जमुनाह नाकाबाट जिल्ला कञ्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तीर्थराज पन्थ र जिल्ला बहराइच रुपैडिहा बस्ने २५ वर्षीय अनवर हुसेनलाई ब्राउन सुगरसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार भारतीय बजार रुपैडिहाबाट मोटरसाइकलमा सवार नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा आलुभित्र लुकाई राखेको अवस्थामा ६ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरि अनुसन्धानको दायरामा ल्याएको बाँके प्रहरीले बताईएको छ ।
पक्राउ परेका उनीहरूले आलुको बोरा भित्र आलुको दानामा उक्त लागू औषध ब्राउन सुगर लुकाएर राखेको अवस्थामा जमुनाह प्रहरीका इन्चार्ज सही नवीन रिजालको कमाण्डमा खटिएको टोली र लागूऔषध ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको डिएसपी डाँगीले बताएका छन।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यहाँस्थित नेपाल भारत नाका पारीको रुपैडिहा बजारमा खुला रूपमा लागु औषध बिक्री गरिने भएकोले तस्करले सोही लागूऔषध खरिद गरेर नेपालतर्फ भित्र्याउने गरेका छन् भने लागूऔषधको लतमा लागेका धेरै नेपाली युवा रुपैडिहा पुगेर नै सेवन गरेर फर्किने गरेका छन्।
भारतबाट भित्र्याइएको लागूऔषधलाई बाँकेको नेपालगन्ज र कोहलपुर मात्र नभई सुर्खेत, दाङ, सल्यान र कालिकोट जुम्लासम्म पुर्याइने गरिएको प्रहरीले जनाएको छ।
पछिल्लो समय मानव अंगहरु गुद्धार, योनी जस्ता संबेदनशिल अंगहरुमा समेत लुकाई छिपाई लागु औषध तस्कर गर्दै आएका तस्करहरुले प्रहरीलाई झुक्याउदै आलुलाई काटेर लागु औषध भित्र्याउँन थालेपछि प्रहरी समेत चनाखो तरिकाले चेकजाँचमा तल्लिन रहेको जमुनाह प्रहरीका इन्चार्ज सही नवीन रिजालले न्युज मानसरोवरलाई बताएका छन ।











