२५ बैशाख २०८१, मंगलवार

परसपुर–गौघाट सडक खण्डको निर्माण कार्य निकै सुस्त, बढ्यो कारवाहिको प्रक्रिया

जानकी, खजुरा र बर्दिया बढैयातालका जनताहरुले नेपालगन्ज आवात जावतमा प्रयोग गर्ने सडक समयमै नबन्ने करिब पक्का

  • न्युज मानसराेवर

नेपालगन्ज:  परसपुर–गौघाट सडक खण्ड निर्माणको जिम्मेवारी पाएको कन्काई-गणपति जेभीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । सम्झौता अनुसार निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई-गणपति जेभी सहित ९ वटा कम्पनीलाई सात दिन भित्र कार्य सम्पादन सन्तोषजनक नभएको बारेमा लिखित प्रतिवेदन सहित कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरेको थियो ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले हालसम्म १२ प्रतिशत मात्रै काम सम्पन्न भएकोले कारबाहीको लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाउनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परसपुर–गौघाट सडक खण्डको निर्माण कार्य निकै सुस्त छ । निर्माणको जिम्मेवारी पाएको कम्पनीको कार्य प्रगति सन्तोष जनक नभएकोले प्रक्रिया अनुसार हामीले पहिलो चरणमा कार्यसम्पादन ढिला हुनुको कारण मागेका छौं ।”

कार्यालय प्रमुख शाक्यले परसपुर–गौघाट सडक खण्ड अब निर्धारित समयमा सम्पन्न हुन निकै कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब करिब ६ महिना बाँकी छ । यस अवधिमा काम सम्पन्न गर्न कठिन छ । त्यसैले सम्झौता अनुसार काम नगर्ने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडी बढ्छ ।”

बाँके पश्चिमतर्फको सीमावर्ती क्षेत्रमा पर्ने परसपुर–गौघाट सडक खण्ड निर्धारित समयमा सम्पन्न हुने सम्भावना सकिँदै गएको छ । जानकी, खजुरा र बर्दिया बढैयातालका जनताहरुले नेपालगन्ज आवात जावतमा प्रयोग गर्ने सडक समयमै नबन्ने करिब पक्का देखिएको छ ।

संघीय सरकारको बजेटमा निर्माण हुन लागेको परसपुरदेखि गौघाटसम्म १० किलोमिटर सडक निर्माणको लागि कन्काई–गणपति जेभिले १४ करोड रुपियाँमा ठेक्का पाएको थियो ।

निर्माण कार्य सम्पन्न गर्न करिब ६ महिना बाँकी रहँदा कामको प्रगति सन्तोषजनक छैन । ठेकेदार कम्पनीले काम गर्छु भनेर आश्वासन दिएपनि निकै सुस्त गतिमा निर्माण कार्य अघि बढिरहेको बताउनुहुन्छ खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनराम ओली । उहाँले भन्नुभयो, “स्थानीय जनतालाई निकै कठिन भैरहेको छ । अहिले धुलोले समस्या पारेको छ, वर्षातमा हिलोले जनतालाई आवतजावतमा अप्ठयारो पर्ने गर्छ । निर्माणको ठेक्का पाएको कम्पनीलाई बारम्बार दबाब दिएपनि कामको गति सन्तोष जनक छैन ।”

परसपुर–गौघाट सडक खण्डको अवस्था बिग्रिएका कारण दैनिक रुपमा बाँके र बर्दियाका जनताले दुःख पाउँदै आएका छन् । सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने हुन्छ । तर कन्काई–गणपति जेभिले सम्झौता भएको १६ महिनापछि मात्रै काम सुरु गरेको थियो । सम्झौता भएर पनि काम सुरु नभएपछि स्थानीय जनताले बिरोधद जनाउँदै आएका थिए ।

कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारीले निर्माण कार्य सम्झौता अवधिमै सम्पन्न गर्ने दाबी गर्नुभएको थियो । तर उहाँले भने अनुसार उक्त सडक खण्ड सम्झौता अवधिमा सम्पन्न हुन कठिन देखिएको छ ।

एक दशकअघि उक्त सडकको कालोपत्रे गरिएको थियो । तर सडकको अवस्था बिग्रदै गएपछि २०७४ सालमा कालोपत्रे भत्काइएको थियो । त्यसपछि बजेट अभाव कारण उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको थियो ।

  • ४ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech