२४ बैशाख २०८१, सोमबार

आजदेखि ‘कर्णाली उत्सव’, यस्तो छ तयारी
  • न्युज मानसराेवर

सुर्खेत: ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण आज शनिबारदेखि सुरू हुँदैछ । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिन चल्ने उत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

ऋति फाउन्डेसनका संयोजक कमल लम्सालले उत्सवमा `इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, कर्णाली धरोहर-मनोहर, लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गता पहुँच र पौरख, हाम्मो काली, हाम्मै कर्नाली, अन्तरजातीय विवाह रहर र कहर, अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली, लोकतन्त्र दलभित्र- देशभित्र, देश जान्या, समाज र संघर्ष, खस कुडा- खास कुडा सौँराई जिन्नगीको र विकास अन्या, विकास खान्या गरी १६ वटा सत्र रहने जानकारी दिए । जसमा ३ वटा पैकेला, ४ वटा टिप्पणी र ३ वटा सांगीतिक साँझ राखिएका छन् ।

उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरूसँग खुल्ला छलफल, विभिन्न सफलताका कथा (पैकला), संस्कृति झल्काउने कार्यक्रमहरू, कर्णालीका पहिचानलगायतका विषयमा छलफल र प्रदर्शनी हुने लम्सालले बताए ।

५०-६० लाख खर्च अनुमान गरिएको यस वर्षको उत्सवमा ६३ वक्ता रहनेछन् भने १८ जना सहजकर्ता रहेका छन् । आज बिहान वीरेन्द्रनगरदेखि साइकल र्‍याली गरेर उत्सव सुरू हुने साथै प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्ने कार्यक्रम तय छ ।
कर्णाली उत्सवले कर्णालीको भाषा, साहित्य, संस्कृति र कलामा मात्र सीमित नभएर समृद्ध कर्णालीको सार्थक सपनाहरूको बारेमा बहस गर्दै आएको छ । कर्णाली उत्सव, कुडा कर्नालीका २०७६ साल फागुनबाट सुरू भएको हो ।

  • ४ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech