२५ बैशाख २०८१, मंगलवार

नेपालगञ्ज जनकपुर सिधा उडानको शुभारम्भ

शनिबार आज नै सो जहाज नेपालगन्ज फर्कने कार्यक्रम

  • न्युज मानसराेवर

नेपालगञ्ज,बाँके: आन्तरिक धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि सिधा उडानको शुभारम्भ  गरिएको छ ।

यति एयरलाइन्सले सुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिवार दिउँसो नेपालगन्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा भएको यति एयरलाइन्सले जनाएको छ ।

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु गरिएको यति एयरलाइन्स नेपालगन्जका प्रमुख दिलीप कार्कीले बताए ।

निकै उत्साहका साथ सुरु भएको उडानको पहिलो खेपमा ७२ जना यात्रु र एक जना बच्चासहित जहाज जनकपुर प्रस्थान गरेको र शनिबार नै सो जहाज नेपालगन्ज फर्कने कार्यक्रम रहेको छ ।

जनकपुरका लागि गरिएको पहिलो प्रवर्द्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामी, पूर्व अध्यक्षहरू नन्दलाल वैश्य र कृष्णप्रसाद श्रेष्ठसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल जनकपुर गएका छन ।

उडान सुरु हुनुअघि आयोजना गरिएको एक संक्षिप्त कार्यक्रममा प्रदेशका सहरी विकास मन्त्री केसीले यो उडानले देशका दुई ऐतिहासिक धार्मिक सहरबिच सम्बन्ध जोड्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा ठुलो टेवा दिने बताईन ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टा बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले यो उडान गरेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउछन । उडानका लागि यति एयरलाइन्सले एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरेको छ ।

 

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech