२४ बैशाख २०८१, सोमबार

बाँकेमा पहिलो दिन ३४ हजार बढीले दादुरा–रुबेला विरुद्धको खोप लगाए

कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ८ हजार ७२ जना बालबालिकाले खोप लगाएका छन

  • न्युज मानसराेवर

नेपालगञ्ज:  बाँकेमा पहिलो दिन आज ३४ हजार बढी बालबालिकाहरुले दादुरा–रुबेला विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठका अनुसार खोप अभियानको पहिलो दिन ९ महिनादेखि १५ वर्ष उमेर समूहका ३४ हजार २३८ जना बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका हुन् । पहिलो दिन सबैभन्दा धेरै कोहलपुरका बालबालिकाले खोप लगाएका छन् ।

कोहलपुरमा ८ हजार ७२ जना बालबालिकाले खोप लगाएका छन् । कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना मध्ये पहिलो दिन ६ हजार ३७५ जनालाई खोप लगाइएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए । आज पालिकाका सबै वडाहरुबाट ३१३९ जना महिला र ३२३९ जना पुरुष अर्थात १५ प्रतिशत बालबालिकालाई खोप लगाइएको वलीले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिकामा ३ हजार ५८९ जनाले खोप लगाए । त्यहाँ १८ हजार ६६१ जनालाई खोप लगाउने लक्ष्य छ । यसैगरी बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा पहिलो दिन २ हजार २१५ जनाले खोप लगाएका छन् । जानकी गाउँपालिकामा १८ हजार १४९ मध्ये १ हजार ९८७ जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जनामध्ये ४ हजार ३३२ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जनामध्ये आज पहिलो दिन १ हजार ७३५ जना बालबालिकाले खोप लगाएका छन् ।

बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । यो अभियान ३० गतेसम्म जारी रहनेछ ।

  • १४ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech