१५ बैशाख २०८१, शनिबार

नेपालगञ्जमा चैत्र ६ गते देखि व्यापार तथा पर्यटन महोत्सव हुने (भिडियो)

महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा

  • न्युज मानसराेवर

नेपालगन्ज: नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यले नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिन सम्म महोत्सव सञ्चालन गरिने बताईन । उनले महोत्सवबारे जानकारी गराउँदै स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु,घरेलु तथा साना उद्योगहरूद्वारा उत्पादित विभिन्न बस्तुहरूको बजारीकरणका लागि प्रदेशस्तरको महोत्सव गर्न लागिएको जानकारी दिईन ।

महोत्सवमा २५० देखि ३०० वटासम्म विभिन्न स्टलहरू राखिने जनाउँदै अध्यक्ष खड्काले ती स्टलहरूमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका सामग्रीहरू प्रदर्शनी गरिने भन्दै महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा हरेक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाईन ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका महासचिव जीआर भुसालले महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए ।

महोत्सव बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य जीवनाथ सापकोटा, लुम्बिनी प्रदेश महासचिव जयश्वेर पौडेल, महासङ्घ अन्तर्गतकै लुम्बिनी प्रदेश महिला उद्यमी समितिका शर्मिला खत्री, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका उपाध्यक्ष अमृत सिग्देल र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ नेपालगन्जका अध्यक्ष दिला शाह समेतको सहभागिता रहेको थियो ।

भिडियो

 

 

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech