१५ बैशाख २०८१, शनिबार

सहकारीलाई सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयनका लागि सचेत बनाईंदै
  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्जका सहकारीलाई सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका कार्यान्वयनका लागि सचेत बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाले आफ्नो नियमन क्षेत्र भित्रका सहकारीहरुसंग अन्तरक्रिया गरेर सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकाको पूर्ण परिपालना गर्न सचेत बनाएको हो ।

अन्तरक्रिया कार्यक्रममा नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमाला र नेपाल राष्ट्र बैंकका अधिकृत राहुल कनोजियाले सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकामा भएको ब्यवस्था र सहकारीले परिपालना गर्नुपर्ने विषयबस्तुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन, प्रवर्द्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको बताउँदै शाखा प्रमुख प्रविण रानाले सहकारीहरु सम्पत्ति शुद्धिकरणको उच्च जोखिममा रहेकाले आवश्यक ज्ञान र निर्देशिका पालनामा सचेत बनाउन अन्तरक्रिया गरिएको बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले सम्पत्ति शुुद्धिकरण निवारणसम्बन्धि निर्देशिकाको अक्षरसः पालना गर्नुपर्नेमा जोड दिए । आन्तरिक सुशासन र वित्तीय पारदर्शिताका लागि सम्पत्ति शुद्धिकरण आवश्यक रहेको पुनको भनाई छ । सहकारी क्षेत्रबाट ठूलो संख्यामा कर्जा र निक्षेप प्रवाह भइरहेकाले वित्तीय जोखिम बढ्दै गएको पुनले बताए ।

अन्तरक्रियामा सहभागी सफल बहुउद्देश्यीय सहकारीकी खिमा थापा र शुद्ध गोरस सहकारीका खगेन्द्रप्रसाद न्यौपानेले सिकाई निकै लाभदायक भएको बताए । कार्यक्रममा वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, आर्थिक विकास समिति संयोजक संगिता रेग्मी लगायत ४ दर्जनको सहभागिता रहेको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech