१५ बैशाख २०८१, शनिबार

नेपालगन्ज उद्योग वाणिज्य संघको महोत्सव स्थगित !

महोत्सव तयारी हुँदै गर्दा महासचिव पदको विषयमा झिकिएको विवाद र असहयोगका कारण महोत्सव स्थगित

  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उद्योग संघले यस बर्ष नेपालगन्जमा आयोजना गर्ने भनेको महोत्सव स्थगित भएको छ । माघ २६ गतेदेखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव आयोजना गर्ने निर्णय गरेको नेपालगन्ज उद्योग वाणिज्य संघले पूर्व तयारी नपुगेको भन्दै फागुन १७ देखि २६ गतेसम्म गर्ने निर्णय गरी तयारी अगाडि बढाएको थियो । तर, फागुन १६ गते संघको कार्यसमितिले एकाएक महोत्सव नै तयारी नपुगेको भन्दै स्थगित गर्यो ।

नेपालगन्ज उद्योग वाणिज्य संघले अब महोत्सव यस बर्ष नगर्ने संघ कार्यसमितिका एक सदस्यले बताए । तयारी नपुगेको भनिएपनि संघ भित्र रहेको आन्तरिक विवाद नै महोत्सव हुन नसक्नुको प्रमुख कारण रहेको उनी बताउँछन् । ‘कार्यसमिति भित्रको विवादले महोत्सव रद्द भएको हो’, उनले भने, ‘महोत्सव गर्नकै लागि पूर्व तयारीका क्रममा केही रकम खर्च समेत भैसकेको थियो ।’ महोत्सव तयारी हुँदै गर्दा महासचिव पदको विषयमा झिकिएको विवाद र असहयोगका कारण महोत्सव स्थगित भएको संघका सदस्य बताउँछन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाट भने यसअघिको भन्दा पृथक र बृहत महोत्सव गर्ने योजना रहेपनि तयारी नपुग्दा महोत्सव स्थगित गरेको बताउँछन् । ‘तयारी नपुगेका कारण महोत्सव स्थगित गरेका हौं’, उनले भने ।

मेलामा भारतबाट समेत उद्योगी, व्यवसायी निम्त्याउनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको टोली भारतको दिल्लीमा भएको टे«ड फेयरमा पुगेको थियो । त्यहाँबाट समेत छोटो समयमा सहभागिता जनाउन नसकिने र कम्तिमा ६ महिना आवश्यक पर्ने त्यहाँबाट उद्योगी, व्यवसायीबाट प्रतिक्रिया पाएको महासचिव रानाभाट बताउँछन् । महासचिव रानाभाट आगामी दिनमा संघले पूर्व तयारी गरेर विगतमा भन्दा पृथक र बृहत महोत्सव आयोजना गर्ने दाबी गर्छन् ।

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech