१५ बैशाख २०८१, शनिबार

टी–२० सिरिज : नेपाल र आयरल्यान्ड भिड्दै
  • न्युज मानसराेवर

काठमाडौँ:नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्स र नेपालको ‘ए’ टोलीबीचको तीन खेलको टी–२० सिरिज बिहीबारदेखि सुरु हुँदैछ।नेपालको राष्ट्रिय टोलीसँगको दुई खेलको सिरिजमा पराजित भएको आयरल्यान्ड वुल्भ्ससँगको खेलपछि नेपालको ‘ए’ टोलीसँग खेल्न लागेको हो। सिरिजको पहिलो खेल आज दिउँसो १ बजे सुरु हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालको ए टोली सुखद सुरुवात गर्न चाहन्छ।

क्यानले टी–२० र एक दिवसीय खेलका लागि विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको छ। आयरल्यान्ड वुल्भ्ससँगको खेलका लागि कमल सिंह ऐरिले टोलीमा पुनरागमन गरेका छन्। सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्। कमलले टी–२० र ओडिआई दुवै सिरिजमा स्थान बनाएका छन्।

ए टोलीको प्रशिक्षणमा परेका आरिफ शेख, देव खनाल, बसिर अहमद र विकास अग्रीले दुवै सिरिजका लागि स्थान बनाएका छन्। ‘ए’ टोलीको प्रशिक्षणमा बोलाइएका भीम सार्कीले ओडीआई खेलका लागि स्थान बनाउँदा टी–२० खेल्ने टोलीमा छैनन्।
सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।

टी–२० सिरिजपछि नेपाल र आयरल्याण्ड वुल्भ्सको टोलीले तीन खेलको ओडिआई सिरिज खेल्नेछ। ओडीआई सिरिज २१ गतेबाट सुरु हुनेछ। दोस्रो ओडीआई खेल २३ गते तथा अन्तिम खेल २५ गते हुने तालिका छ।

टी–२० खेल्ने टोली
विनोद भण्डारी ‘कप्तान’, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह एरि, हेमन्त धामी र बिकास अग्री।

ओडीआई खेल्ने टोली
विनोद भण्डारी ‘कप्तान’, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरि, शाहब आलम, रन्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech