५ जेष्ठ २०८१, शनिबार

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिने एमालेलाई जानकारी छैन : कँडेल
  • न्युज मानसराेवर

सुर्खेत:कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार २० गते विश्वासको मत लिँदै छन्। उनले विश्वासको मत लिने भन्दै आइतबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन्। फागुन २१ गते एमाले–माओवादी नयाँ गठबन्धन बनेपछि कर्णाली सरकारमा रहेको नेपाली कांग्रेस समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि शर्मा विश्वासको मत लिन लागेका हुन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसद एक–एक जना रहेका छन्। केन्द्रमा नयाँ गठबन्धन बनेकाले कर्णालीमा पनि एमाले र नेकपा एकीकृत समाजवादीले शर्माको सरकारलाई समर्थन गर्नुपर्ने हो। तर, त्यस्तो देखिएको छैन।

सत्ता गठबन्धनमा प्रदेश भागबन्डा हुँदा कर्णाली नपर्ने भय माओवादी नेता शर्मालाई छ। त्यसैले उनी तत्काल विश्वासको मत लिने निर्णयमा पुगेका छन्। माओवादीभित्र उनी जनार्दन शर्मानिकट मानिन्छन्। मुख्यमन्त्री शर्माले एमालेसँग सल्लाह नगरी विश्वासको मत लिन लागेको नेकपा एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेलले बताए। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेलसँगको  संक्षिप्त संवादः

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेछन्, एमालेले के गर्छ ?
थाहा भएन। उहाँ मुख्यमन्त्रीलाई विश्वासको मत कसले दिने भनेको छ ? उहाँले को सँग सल्लाह गर्नुभएको छ ?  त्यो उहाँलाई थाहा होला, एमालेलाई त थाहा छैन। एमालेसँग विश्वासको मत मागेका  छैनन। कुनै सरसल्लाह नगरीकन गर्नुभएको छ। के हो थाहा भएन।

मत दिने–नदिने अन्योलमै हुनुहुन्छ तपाईँहरू ?
उहाँहरूले प्रस्ताव, योजना के बनाउनुभएको छ ?  छलफल नभएको कुरा भयो।

एमालेसँग कुनै कुरै भएको छैन ?
सार्वजनिक मिडियाबाट थाहा पाएको हो। उहाँले (मुख्यमन्त्री)ले संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको कुरा त सामाजिक सञ्जालबाट थाहा पाएँ मैले । त्यसको बारेमा केही छलफल, कुराकानी भएको छैन।

त्यसो भए कर्णालीमा एमालेसँग गठबन्धन बनेकै छैन ?
त्यही त मैले भनिहालेँ, सामाजिक सञ्जालबाट थाहा पाएको हो। एमालेसँग त्यसबारे छलफल गरेको अवस्था होइन यहाँ कर्णालीमा ।

यस्तो अवस्थामा एमालेले विश्वासको मत दिन्छ कि दिँदैन ?

त्यो त पछिको कुरा भयो। कुनै दलका तर्फबाट प्रस्ताव राख्न उहाँहरू स्वतन्त्रै हुनुहुन्छ। उहाँको आफ्नै मत पुग्ने भएको भए विश्वासको मत राख्नुपर्ने जरुरी पर्दैनथ्यो।

अब एमालेसँग सल्लाह गर्नुभएको छैन, कोसँग सल्लाह गरेर प्रस्ताव दर्ता गर्नुभएको हो, यो जानकारी नभएको विषय पर्‍यो मलाई अहिले।

मुख्यमन्त्रीले एमालेको मत पाउने सम्भावना छ कि छैन ?
त्यो त पछिको कुरा भयो । सल्लाह नगरी गरेको कुरा भयो। राष्ट्रिय राजनीतिमा एमाले र माओवादी सल्लाहले हिडिँराखेका छन्, कर्णालीमा माओवादी कसको सल्लाहले हिँडेको थाहा छैन। कर्णालीमा माओवादीका मुख्यमन्त्री बिनासल्लाह हिँड्याजस्तो देखियो। एमालेसँग कुनै सल्लाह छैन।

प्रदेशमा शक्ति बाँडफाँटको कुराले पनि मुख्यमन्त्रीले हतार गरेका हुन सक्छन् ?
के हो, त्यो त थाहा भएन। तर, कतिपय मिडियाबाट उहाँले असन्तुष्टि पोख्दै हिँड्नुभएको बुझिन्छ। के कारणले हो, त्यो उहाँहरूले जान्ने परिस्थिति रहन्छ।

राष्ट्रिय राजनीतिमा जे लय समातेको छ, त्योभन्दा अर्कै बाटो हिँड्न, आफूलाई पृथक देखाउन खोजेको हो कि थाहा भएन। अहिले नै धेरै बोलिहाल्न हतारो हुन्छ। तर, विश्वासको मत लिन प्रस्ताव दर्ता गरेपछि यकिन भएर नै दर्ता गर्नुभएको होला।

कि एमालेकै अरु सांसदहरुसँग सल्लाह भएर तपाईँसँग नभएको हो कि ?
थाहा भएन। अहिले आफ्नो बारेमा मात्र बताउन सकिन्छ।

 

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech