२० बैशाख २०८१, बिहीबार

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य
  • न्युज मानसराेवर

काठमाडौँ: दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले जितको लागि कतारलाई दुई सय ११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १० रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ६४ रन बनाउनुभयो । अन्तिम ओभरको ६ बलमा ६ छक्का हान्नुभएका दीपेन्द्रले २१ बलमा तीन चौका र सात छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै आशिफ शेखले ५१ रनको अर्धसतकीय पारी खेल्नुभयो । उहाँले ४१ बलमा ६ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कुशल मल्ले ३५, कप्तान रोहितकुमार पौडेलले १८ र ओपनर कुशल भुर्तेलले १२ रन बनाउनुभयो । बलिङमा कतारका हिमांसु राठोड र मुसावर शाहले तीन तीन विकेट लिनुभयो । अमिर फारक्युले एक विकेट झार्नुभयो ।

नेपाल कतारविरुद्ध लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो ।

नेपालले समूहको तेस्रो खेल ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । नेपाल प्रिमियर कपको साविक विजेता हो ।

  • १ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech