२४ बैशाख २०८१, सोमबार

चैती छठ : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
  • न्युज मानसराेवर

रौतहट:चैती छठ पर्व अन्तरगत अहिले साँझ वीरगञ्ज, बारा, पर्सा, रौतहटसहित तराई मधेशका जिल्लाहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । अहिले साँझ वीरगन्ज तथा बारा पर्सा रौतहट लगायतका जिल्लाका छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ ।

व्रतालुहरू छठघाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाएपछि घर फर्किएका छन् । अधिकांश व्रतालुहरू रातभर जागराम बसी भजनकिर्तन गर्ने गर्दछन् ।

चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन नहायखाय गरेर शुरु भएको चैते छठ अन्तर्गत आइतबार साँझ षष्ठी तिथिको अवसर पारेर अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिइएको हो । यसै गरि भोली सोमवार उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि यो पर्व समापन हुने गर्दछ ।

सुख, शान्ति, समृद्धि, परिवार जनको कल्याण, सन्तानको दीर्घायु, नयाँ सन्तानको प्राप्ति, पतिको दीर्घायुको साथै चर्म रोग नलाग्ने लागेको भए पनि निको हुने धार्मिक मान्यतासहित छठ पर्व मनाउने चलन रहेको छ । गृष्म कालको छठ भएकाले शरद ऋतुको कार्तिक महिनामा मनाइने छठ भन्दा चैते छठ गर्नेको सङ्ख्या कमी भए पनि वर्षैपिच्छे व्रत गर्नेहरुको सङ्ख्या बढिरहेको छ ।

चैती छठ पर्वमा समेत वीरगञ्जको चर्चित घडिअर्वा पोखरी, मुर्ली पोखरी, नगवा पोखरी, छपकैया पोखरी, माईदिया, रानीघाट सहितका नदी, पोखरी र ताल तलैयामा व्रतालुहरू छठ सामग्री सहित पुगेका थिए भने छठ घाटहरू समेत आकर्षक ढंगले सजाइएको थियो ।

गृष्मकालीन चैती छठ पर्व समेत रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ ।

छठ पर्वमा बाँसको ढक्की, नाङ्लो माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने व्रतालु तिन दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् ।

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech