१७ बैशाख २०८१, सोमबार

बाँकेका बालबन्दीहरुमा छालासम्बन्धी रोगको समस्या

अधिकांश बालबन्दीहरुले औषधि नै नपाएको गुनासो

  • न्युज मानसराेवर

डुडुवा: बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जयेन्दु बाल सुधारगृहका बालबन्दीहरुमा छालासम्बन्धी रोगको समस्या देखिएको छ । उनीहरूले उपचारका लागि औषधि नपाएको गुनासो गरेका छन् ।

एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतमले उक्त बाल सुधारगृहमा रहेका अधिकांश बाल बन्दीमा छालासम्बन्धी रोगको समस्या रहेको पाइएको बताउनुभयो । सुधारगृहमा रहेकामध्ये आधा जसोमा छालासम्बन्धी लुतो, दादलगायतको समस्या देखिएको बताउनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च बाँकेको अध्यक्षसमेत रहनुभएका अधिवक्ता गौतमले सोमबार उक्त सुधारगृहमा अनुगमनमा जाँदा उक्त समस्या देखिएको जानकारी दिनुभयो । उहाँले भेरी अस्पतालबाट प्रत्येक महिनाको दोस्रो शुक्रवार बालबन्दीको स्वास्थ्य चेकजाँच गर्न चिकित्सकको टोली जाने गरे पनि उपचारका लागि औषधि भने नदिने गरेको बालबन्दीहरुको गुनासो गरेको बताउनुभयो ।

“जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुलाई निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि भेरी अस्पताल नेपालगन्जले सम्झौता गरेको छ, सम्झौतामा प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रवार जनरल फिजिसियन, बाल चिकित्सक तथा मनोचिकित्सकसहितको विशेषज्ञ टोलीबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने उल्लेख गरिएको छ ।” उहाँले भन्नुभयो, “तर अधिकांश बालबन्दीहरुले औषधि नै नपाएको गुनासो गरेका छन् ।”

जयेन्दु बाल सुधारगृहमा हाल २ सय ४८ जना बालबन्दी छन् । २ सय ४८ जना बालबन्दीलाई ५ वटा ठूला हलकोठामा राखिएको अधिवक्ता गौतमले बताउनुभयो । “बालबन्दीलाई ५ वटा ठूला हलकोठामा राखिएको रहेछ, हरेक कोठामा २८ देखि ८० जनासम्म राखिएको छ, सामूहिक बसाइ हुँदा एउटामा रहेको रोग अर्कोमा तुरुन्तै सर्ने देखिन्छ, छाला रोग सर्ने पनि भएको हुँदा अधिकांश यस रोगबाट पीडित भएको पाइयो ।” उहाँले भन्नुभयो ।

जयेन्दु बालसुधार गृहका प्रमुख विमला काउचामगरले पछिल्लो समयमा बालबन्दीहरुमा छालासम्बन्धी रोग धेरै पाइएको बताउनुभयो । उहाँले सम्झौता अनुसार भेरी अस्पतालको चिकित्सकको टोलीले पहिलो चरणमा बालबन्दीहरुको स्वास्थ्य जाँच गरेको बताउनुभयो । “बालबन्दीमा छाला रोगको समस्या देखिएको छ, अस्पतालको टोली आएर पहिलो चरणमा जाँच पनि गरेर जानुभएको छ ।” उहाँले भन्नुभयो, “आवश्यक औषधिसहित व्यवस्था गरिदिनका लागि भेरी अस्पताललाई पत्राचार गरेको छु ।”

“खासमा बाल बन्दीको उपचार कारागारमार्फत हुनुपर्ने हो, तर त्यहाँबाट चेकजाँच र औषधि उपचार गर्ने प्रकृया लामो र झण्झटिलो हुन्छ, बालबन्दी बिरामी भइरहेको हुन्छ, प्रक्रियामा जाँदा धेरै ढिला हुन्छ, कहिले आवश्यक औषधि हुँदैन ।” काउचामगरले भन्नुभयो, “सामान्य खालका रोगका समस्याहरु पालिकासँग समन्वय गरेर पालिकाकै स्वास्थ्य शाखाबाट गर्ने गरेका छौं, सामान्य रोगका चेकजाँच, औषधाेपचार पालिकाले नै गरिदिएको छ ।” नसर्ने र दीर्घरोगभन्दा बाल बन्दीमा पछिल्लो समयमा छालासम्बन्धी सर्ने रोग बढी पाइएको उहाँको भनाइ छ ।

जिल्लाको नौबस्तास्थित बाल सुधारगृहमा रहेका बालबन्दीको निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र हिरमिनियामा रहेको जयेन्दु बाल सुधारगृहमा रहेका बालबन्दीलाई निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि नेपालगन्जस्थित भेरी अस्पतालले सम्बन्धित सुधारगृहसँग सम्झौता गरेका थिए ।

गत फागुन २९ गते गरिएको सम्झौतामा बाल न्याय समितिका सदस्यसचिव गोविन्द आचार्य, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजङ्ग रायमाझी, नेपालगन्ज मेडिकल कलेजका डा.रोमन किदवाई, जयेन्दु बाल सुधारगृहका कार्यालय प्रमुख विमला काउचामगर र बाल सुधारगृह नौबस्ताका कार्यालय प्रमुख श्यामबहादुर रानाले हस्ताक्षर गर्नुभएको थियो ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech