३ जेष्ठ २०८१, बिहीबार

बाँकेमा बढ्दै अवैध तस्करी
  • न्युज मानसराेवर

बाँके । हाँस्थित नेपाल भारत नाकाबाट अवैध आयात र चोरी तस्करी बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी चालु आर्थिक वर्षको नौ महिनामा मात्रै भन्सार छलेर ल्याएको १२ करोडभन्दा बढीको मालसामान बरामद गरेको तथ्याङ्क सार्वजनिक गरेपछि यो नाकामा तस्करी र अवैध आयात बढ्दै गएको पुष्टि भएको हो ।

सीमानामा तस्करीलगायत अवैध आयात रोक्न खटिएको सशस्त्र प्रहरीले चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म १० करोड १० लाख रुपियाँ बराबरको भन्सार छली गरी भित्र्याइका अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो ।

उहाँले नाकामा निकै कडाई गरिएका कारण अवैध सामान दिनदिनै नियन्त्रणमा लिने कार्य भइरहेको बताउनुभयो । उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले चालु आर्थिक वर्षको नौ महिनामा दुई करोड १० लाखभन्दा बढी  रूपियाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको जानकारी दिनुभयो ।

नेपाल भारत नाकामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुख्य नाका लगायत विभिन्न साइड नाकाहरुमा निरन्तर गस्ती तथा चेकजाँच गर्दै आएको भए पनि अवैध आयात र तस्करी भने जारी रहेको पाइएको छ ।तस्करहरुले भारतबाट भन्सार छलेर अवैध सामानहरु नेपालगन्ज पुर्‍याई भण्डारण गरेर विभिन्न पहाडी जिल्लाहरुमा समेत पठाउने गरेको देखिएको छ । प्रहरीले पनि धेरै पटक नेपालगन्ज भण्डारण गरिएको अवैध सामानलाई नियन्त्रणमा लिएको छ ।

नेपालगन्जका व्यवसायीहरूले नाकामा कडाइ गर्न लामो समयदेखि माग गर्दै अवैध आयात र तस्करीले पनि नेपालगन्जको व्यवसाय फस्टाउन नसकेको गुनासो गर्दै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चिरन्जीवी ओलीले तस्करी र अवैध आयात बढेकोले सो रोक्न सङ्घले पटक पटक नाकामा कडाइ गर्नुका साथै भन्सार दर घटाउन पनि माग गर्दै आएको बताउनुभयो । ‘‘भन्सार दर कम हुने हो भने भन्सार गराउने बढ्छन्, तस्करी हुँदैन’’, उपाध्यक्ष ओलीको भनाइ छ, ‘‘त्यसबाहेक भित्री नाकाहरूमा समेत छोटी भन्सार सञ्चालनमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाउनुपर्छ ।’’ तस्करी र अवैध आयात बढेकै कारणले एकातिर भन्सार राजस्व लक्ष्य अनुसार सङ्कलन हुन सकेको छैन भने अर्कातिर नेपालगन्जको व्यापार व्यवसाय सुक्दै गएको व्यवसायीको गुनासो छ ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech