२२ बैशाख २०८१, शनिबार

बागेश्वरी सामुदायिक वनको १० लाख रकम अध्यक्षको खल्तिमा

समूहको नगद आम्दानी बुझाउन असार मसान्त सम्मको समयसीमा माग

  • न्युज मानसराेवर

राप्ती सोनारी: बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोगीलाल थारुले समूहको दश लाख रुपैया व्यक्तिगत रुपमा चलाएको पाईएको छ । २०८० फागुन १० मा भएको उपभोक्ता समूहको साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका थारुले समूहको आम्दानी दश लाख नगद मौज्दात रहेको बताए पनि दुई महिना बित्दासम्म खातामा जम्मा नभएको कोषाध्यक्ष बिनोदकुमार थारुले बताए ।

उनका अनुसार, तेस्रो कार्यकालका लागि निर्वाचित थारुले समूहको रकम व्यक्तिगत रुपमा चलाएपछि समूहको खाता सञ्चालन, कार्ययोजना, वन चौकीदारको पारिश्रमिक भुक्तानी लगायतका काम हुन सकेको छैन । समूहका सचिव शिला डाँगीले नयाँ कार्यसमितिलाई समूहका अध्यक्ष थारुले अघिल्लो कार्यकालको सम्पति वरबुझारथ नगरेको बताईन । साधारणसभा पछि समूहको दुईवटा बैठक बसेपनि अध्यक्ष थारुले समूहको आम्दानी जम्मा गर्न आनाकानी गरिरहेको उनको भनाई छ ।

साधारणसभामा एक हप्ताभित्र नगद मौज्दात समूहको खातामा जम्मा गर्ने प्रतिवद्धता जनाएपनि दुई महिना बितिसक्दा समेत रकम जम्मा नगरी अध्यक्षले समूहलाई नीति विधान विपरित मनोमानी सञ्चालन गरेको उनको आरोप छ । पछिल्लो पटक यहि बैशाख ५ गते बसेको समूहको बैठकमा अध्यक्ष थारुले समूहको नगद आम्दानी बुझाउन असार मसान्त सम्मको समयसीमा माग गरेका सचिव डाँगीको भनाई छ ।

समूहका अध्यक्ष थारुले नगद मौज्दात समूहको खातामा जम्मा गर्न ढिलाई भएको बताए दुःख विरामी पर्दा सरसापट दिएको रुपैया उठाउन नसकेकोले नगद मौज्दातको रकम जम्मा गर्न ढिलाई भएको उनको भनाई छ । “पुरानो कार्यकालको आम्दानीको नगद मौज्दातबाट गाउँमा दुःख विरामी पर्दा सरसापट दिएको पैसा उठेको छैन”,अध्यक्ष थारुले भने,“दश लाखमा तीन लाख जति बैंकमा जम्मा गरेको छु, बाँकी रकमको लागि असार मसान्त सम्म समय माग गरेको छु ।”

अध्यक्ष थारुले समूहको नगद मौज्दात खातामा जम्मा नगरेपछि समूहका काम ठप्प भएको छ । वनका दुई जना चौकीदारले तीन महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । चौकीदार बेलबहादुर खत्रीले माघ महिनादेखि पारिश्रमिक पाउन नसकेको बताए ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech