२२ बैशाख २०८१, शनिबार

जंगलि बँदेलको आक्रमणमा परि दैलेखमा ७ जना घाईते
  • न्युज मानसराेवर

दैलेख: रातकाे समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएकाे बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज मङ्गलवार दिउँसो भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयवासीलाई बँदेलले टाेकेकाे छ । एउटै बँदेलकाे टाेकाइबाट सात जना घाइते भएका छन् ।

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा टोलका बारीमा गहुँ काट्दै गरेका मानिसलाई बँदेलले टोकेको भैरवी गाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर हमालले बताउनुभयो । बँदेलको टोकाइबाट भैरवी–६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते भएका छन् ।

उनीहरू सबैजसोलाई लखेट्दै गर्दा बँदेलले पछिल्तिरबाट खुट्टाकाे भागमा टोकेको पाइएको पानीपोखरी प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिनुभयो । घाइतेमध्ये छ जनाकाे स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ । गम्भीर घाइते भएका गणेशलाई थप उपचारका लागि सदरमुकाम ल्याउने पहल भइरहेकाे वडाध्यक्ष हमालले बताउनुभयाे । गएको फागुनमा भैरवी–६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको भाग र हातको औँलामा टाेकेकाे थियाे ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech