२४ बैशाख २०८१, सोमबार

दुर्घटना न्युनिकरण र ट्राफिक नियमबारे बाँके ट्राफिकको सचेतना अभियान
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमबारे बढी भन्दा बढीलाई जानकारी गराउन सचेतना अभियानलाई तिव्र पारेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले सवारी चालकलाई जिम्मेवार बनाई दुर्घटना न्युनिकरण गर्दै जाने सर्वसाधारणलाई समेत ट्राफिक नियमबारे सचेत गर्ने अभियान बाँकेमा दैनिक रुपमा चलिरहेको बताए।

उनले जिल्लाका विभिन्न स्थानमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले सवारी चालकलाई जम्मा गरेर तीव्र गतिमा सवारी नचलाउन, हेल्मेट सधैं प्रयोग गर्न तथा मापसे र लापसे नगर्न हरेक दिन अनुरोध गर्दै आएको बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्ग, कोहलपुर–नेपालगन्ज सडक खण्डसँगै दुर्घटना धेरै हुने अन्य विभिन्न ठाउँको पहिचान गरेर सचेतना अभियानलाई निरन्तरता दिइएको छ।

ट्राफिक प्रहरीले पैदल यात्रु र साइकल चालकलाई समेत ट्राफिक नियमको बारेमा जानकारी गराउने कार्य गर्दै आएको छ। पैदलयात्रुलाई सडक पेटीमा हिँड्न र जेब्राक्रसिङबाट बाटो काट्न सिकाउने गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीको भनाई छ ।

  • १४ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech