५ जेष्ठ २०८१, शनिबार

बाँकेमा एक हजार बढी नयाँ घरेलु तथा साना उद्योग दर्ता
  • न्युज मानसराेवर

बाँके:बाँके जिल्लामा चालु आर्थिक वर्षमा एक हजार १५३ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकृत काशीलाल अधिकारीले दिनुभएको जानकारी अनुसार बाँके जिल्लामा चालु आर्थिक वर्षको हालसम्म उद्योगतर्फ ६१३ र वाणिज्यतर्फ ५४० गरेर एक हजार १५३ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

उहाँले आर्थिक मन्दीका कारण नयाँ उद्योग खुल्ने क्रम घट्ने अनुमान गरिएकोमा उल्लेख्य मात्रामा घरेलु उद्योग दर्ता भएको पाइएको बताउनुभयो।  सोही प्रकारले जिल्लामा चालु आर्थिक वर्षको हालसम्म उद्योगतर्फका ८३६ र वाणिज्यतर्फका एक हजार ५६८ गरी दुई हजार ४०४ घरेलु तथा साना उद्योग नवीकरण भएको सूचना अधिकृत अधिकारीले जनाउनुभयो।

उहाँका अनुसार जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३९५ घरेलु तथा साना उद्योग बन्द गरिएका छन्। कार्यालयमा आएर आधिकारिक रूपमा उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका धेरै उद्योग खारेजीमा परेको अधिकारीले बताउनुभयो।

बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ। उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेको जनाइएको छ।  बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए। यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन्।

कोभिड–१९ को असर, बैङ्कको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुने क्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले बताउनुभयो।  उहाँले विभिन्न कारणले धेरै उद्योग बन्द भए पनि बन्द हुने भन्दा नयाँ दर्ता हुने उद्योगको सङ्ख्या बढी रहेको बताउनुभयो।

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech