११ श्रावण २०८१, शुक्रबार

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुकालागि ८३ कृतिम पोखरी निर्माण
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाँदा वन्यजन्तुलाई खानेपानीको समस्या भएकाले निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको हो ।

राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको थियो । चालु अवमा तीन वटा बोरिङसहितको पोखरी निर्माण गरिएको जनाउँदै तीन ठाउँमा बोरिङ मात्रै गरेर खाल्डोमा पानी सङ्कलनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा गर्मीको बेला पानीको खोजीमा जनावर भौँतारिने गरेकाले कृत्रिम पोखरी निर्माण गरिएको संरक्षण अधिकृत साहको भनाइ छ । निकुञ्जमा रहेका जलाशयमा अत्यधिक गर्मी बढेपछि पानीको सतह घटेको भन्दै कृत्रिम पोखरी निर्माण गरी बोरिङ गाडेर पानीको व्यवस्थापन गरिँदै आएको उनको कथन छ ।

निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा, बाँदर र हात्तीसहितका वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् । निकुञ्जभित्र विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरेर सौर्य ऊर्जामार्फत मोटर सञ्चालन गरेर वन्यजन्तुका लागि खानेपानीको व्यवस्था मिलाइएको वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिए । पानीकै खोजिमा वन्यजन्तुहरु भौंतारिदा सडक सम्म पुग्ने र दुर्घटना निम्तिने कुरालाई मध्य नजर गरेर पनि ८३ वटा कृत्रिम पोखरी वनाईएको साहको भनाई रहेको छ ।

  • २४ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech