चितवन:चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । हिजो दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरू मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तकोमा बसेका छन् । नन्द दास र जोगेश्वर राय यादवको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ ।
पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव भारतीय नागरिकको पहिचान खुलेको छ । बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उहाँको पहिचान खुलेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले मृतकको पहिचान भएको र उनी बसका यात्रु भएको जनाएको छ । साहको शव दुर्घटना स्थलभन्दा करिब ५० किलो मिटर टाढा नारायणी नदी किनारमा भेटिएको हो ।