बाँके:२०८० असोज ४ मा बाँकेको जयन्दु बाल सुधारगृहमा बालबन्दीबीच झडप हुँदा रूपन्देही कञ्चन-४ का सुलभ केसीको ज्यान गयो। ११ बालक घाइते भए । १२० जना क्षमताको सो बाल सुधारगृहमा हाल २६६ जना १४ देखि ३० वर्षसम्मका बालबन्दी छन् । त्यसपछि २५ गते पुनः बालबन्दीबीच कुटपिट हुँदा ६५ जना बालबन्दी फरार भए । खाना खाने बेला लाइन बस्ने विषयमा चौकीदार र बालबन्दीबीच झडपका क्रममा भागेका दुई जना भारतीय बालक फेला परेनन्।
२०७९ भदौ ३ गते भक्तपुरको सानोठिमीस्थित सुधारगृहमा रामेछापको मन्थली–३ का २१ वर्षीय कमल बस्नेतको मृत्युकै विषयमा बालबन्दी नाराबाजी, तोडफोड आगजनीमा उत्रिएर २३१ कैदीबन्दी सडकमै आए। ११० क्षमताको सानोठिमी बाल सुधारगृहमा रहेका २५५ बालबन्दीमध्ये २४–३० वर्ष उमेर समूहका १८ जना लागुऔषध कसुरकालाई अन्यत्र सारियो । भदौ २६ गते पर्साको वीरगन्जस्थित बाल सुधारगृह लगिएका तिनै १८ जनाले त्यहाँ पहिले रहेका बालबन्दीसँग फेरि झडप गर्दा नियन्त्रण गर्न प्रहरीलाई नै समस्या भयो।
बाल सुधारगृहमा व्यवस्थापनको समस्याका यी केही प्रतिनिधि घटना मात्र हुन् । पुराना भौतिक संरचनामा बढ्दो बालबन्दीको चापका कारण देशभरका नौ वटा बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर रहेका बालबन्दीबीचको विवादले बाल सुधारगृह प्रायः अशान्त भइरहन्छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार देशभर रहेका नौ वटा बाल सुधारगृहको क्षमता ८९५ रहेकोमा बालबन्दीको सङ्ख्या बढेर एक हजार २५१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता, चन्द्रकला पौडेलले बालबन्दीको सङ्ख्या बढ्दै जाँदा र १८ वर्ष उमेर पुगेका बालबन्दीलाई अन्यत्र व्यवस्थापन गर्न नसक्दा सुधारगृहमा चापसँगै उच्छृङ्खल गतिविधि हुने गरेको बताउनुभयो । उनले बालबन्दीको अधिकार र उनीहरूले पाउनुपर्ने न्यूनतम सुविधासँगै शिक्षा र सिप विकासका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताइन्।
मन्त्रालयको तथ्यांकअनुसार ५० जनाको क्षमता रहेको मोरङको पूर्वाञ्चल बाल सुधारगृहमा चौगुणाभन्दा बढी २२९, ६० जना क्षमताको पर्सास्थित वीरगञ्ज बाल सुधारगृह ११३, ११० क्षमताको भक्तपुरस्थित बालसुधार गृह सानोठिमीमा २५५, ५० क्षमताको कास्की सराङकोटस्थित बाल सुधारगृहमा १०१ बालबन्दी राखिएको छ ।
१२० जना क्षमताको बाँके नेपालगञ्जमा रहेको जयन्दु बाल सुधारगृहमा २६६, ६० क्षमताको रुपन्देही भैरहवास्थित बाल सुधारगृहमा ९१, २५ क्षमताको डोटी सिलगढीस्थित बाल सुधारगृहमा ५२ बालबन्दी छन्। ७० जना क्षमताको मकवानपुरस्थित भीमफेदी बाल सुधारगृहमा भने क्षमताभन्दा कम ६० जना र सबैभन्दा धेरै ३५० क्षमताको बाँकेको नौबस्ता बाल सुधारगृहमा जम्मा ११३ बालबन्दी राखिएका छन्।