६ कार्तिक २०८१, मंगलवार

दशैँ सकियो, सकिएन थारु समुदायको ‘सखिया नाच’
  • न्युज मानसराेवर

बाँके : दसैँ सकिए पनि बाँकेका थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रमझम अझै सकिएको छैन । दसैँ सुरु हुनुभन्दा पहिले सुरु भएर दसैँ सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अझ पनि जिल्लाका अधिकांश थारु गाउँबस्ती रमाउँदैछन् ।

दसैँ सकिए पनि सो नाच अझै जारी नै रहेको जनाउँदै बाँके मैटहवाका थारु अगुवा दीपेन्द्र थारुले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच अझै गाउँबस्तीमा जारी रहेको बताए ।

उनले गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यो नाचको नाम सखिया रहेको बताए । सखिया नाचले थारु गाउँको एकताको भावना प्रकट हुने गरेको उनले बताए । उनका अनुसार यो नाच सकिएपछि जम्मा भएको पैसा सबै मिलेर नदीबाट ल्याएको माछा र अन्य परिकार तयार पारी खाने प्रचलन रहेको छ ।

यस्तै, बाँके टिटिहिरियाका अगुवा शङ्कर चौधरीले दसैँ सकिए पनि सखिया नाचको रमझमले गाउँबस्तीका युवालाई अझै नछाडेको बताए । उनले दसैँभन्दा पहिलेबाटै सुरु भएको सो नाच केही ठाउँमा तिहारसम्म पनि जारी रहने बताए ।

सोही प्रकारले राप्तीसोनारी फत्तेपुरका युवा जनक थारुले डिजे र मोबाइलमा झुम्मिने नयाँ पुस्ता पनि यस पटक सखिया नाचतर्फ आकर्षित भएको देख्दा निकै खुशी लागेको बताए ।

उनले यस पटक अधिकांश युवाहरू सखिया नाचमा सहभागी भएको देख्दा संस्कृति संरक्षण हुने विश्वास बढेको बताए । दसैँको अवसरमा केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् ।

थारु समुदायका अगुवाहरूका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो त्यति रौनकता आउँछ । यो नाचका लागि कम्तीमा चार–पाँचजना मादल बजाउने युवा हुन्छन् । १५–२० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् ।

सखिया नाचमा विशेषतः युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गरेका हुन्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ ।

महिलामा एकजना मोरहनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोरहनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै, मादल बजाउने अगुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा रहेको छ ।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech