नेपालगन्ज:गलत सरकारी नीति र राजनीतिक अस्थिरताले व्यवसायिक क्षेत्र चौपट भएको भन्दै ‘गरिखाने वातावरण बनाइदिन’ आग्रह गरिएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघले विभिन्न पर्व लक्षित शुभकामना आदानप्रदानको अवसर पारेर शुक्रबार नेपालगन्जमा आयोजना गरेको एउटा कार्यक्रममा व्यवसायीहरूको जोड थियो, ‘गरिखान देऊ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा भएको कार्यक्रममा सत्ता साझेदार दलदेखि विपक्षी दलका सांसदहरूको सहभागिता थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओलीले तस्करी रोक्न नसक्ने तर वैधानिक काम गरिरहेकाहरूलाई छापा मारेर सताउने राज्यको नीतिले गरिखाने अवस्था नरहेको भन्दै मञ्चबाट आग्रह गरे, ‘कृपया हामीलाई गरिखान देऊ ।’
मञ्चमा नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका सांसद किशोर सिंह राठौर, एमाले केन्द्रीय सदस्य समेत रहेका सांसद सुर्य ढकाल, दिपा शर्मा, पूर्व मन्त्री समेत रहेकी माओवादी नेतृ कृष्णा केसी (नमूना) लगायत आधा दर्जन सांसदहरू आसिन थिए ।
‘राजनीतिक नेतृत्वको अकर्मण्यता र इच्छाशक्ति अभावले मुलुक अप्ठ्यारोमा गयो’, जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंक प्रसाद शर्माले मञ्चासिन नेताहरूलाई लक्षित गर्दै भने, ‘राजनीतिले व्यवसायिक क्षेत्रलाई कहिले हेर्ने ?’ कर, भन्सार अधिकारीहरु समेत सहभागी कार्यक्रमको सहजीकरण संघका महासचिव भीम बहादुर रानाभाटले गरेका थिए ।