८ मंसिर २०८१, शनिबार

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान ग्रहण गर्न भ्याइनभ्याई
  • न्युज मानसराेवर

नेपालगन्ज: प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आयोजकलाई दाताहरुबाट दान रकम बुझ्न भ्याइनभ्याई भएको छ । महोत्सवको सचिवालयले ४ वटा काउण्टरको व्यवस्था गरेपनि त्यहाँ खटिएका स्वयमसेवकहरुलाई रसिद काट्न भ्याइनभ्याई भएको हो ।

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।

कथा वाचनको पाँचौे दिन २० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवणगर्न आजपनि महायज्ञमा नेपालगन्ज र त्यस आसपासका क्षेत्रबाट दर्शनार्थी श्रोताहरुको उल्लेख्य उपस्थिती रहेको थियो

वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको छैटौंैदिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए । नेपाली, भोजपुरी, हिन्दी, अवधी भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरुले नाचेर कलाकारहरुलाई साथ दिएका थिए ।

आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच वैकुण्ठधाम सिधनियाघाटको मुख्य प्रस्तावक संस्था मल्हमपट्टी मर्निङवाक ग्रुपको तर्फबाट संयोजक भोला महतबाट १ लाख ११ हजार १११, सदस्य ईश्वर पोखरेलबाट १ लाख ११ हजार १११, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठबाट १ लाख ११ हजार १११, अधिवक्ता विकास आचार्यबाट १ लाख ११ हजार १११ रुपैयाँ प्रदान भएको छ ।

त्यसैगरि वैकुण्ठधाम निर्माणको सहयोगार्थ नेपालगन्जका इलेक्ट्रोनिक व्यवसायी चोलराज श्रेष्ठ (चन्द्रमान)बाट १ लाख १ हजार १११, डा. विनोद खेतानबाट १ लाख १ हजार, नेपालगन्ज १ का लिलानाथ अधिकारीबाट ५३ हजार ६५१, सुनिलकुमार गुप्ताबाट ५१ हजार ५११, अछामी सेवा समाजबाट ४९ हजार ९०६ दान प्राप्त भएको आर्थिक संयोजक श्रेष्ठले बताए । महायज्ञमा दिपादेवी स्वाँरबाट २५ हजार ५५५, यज्ञलक्ष्मी श्रेष्ठबाट २५ हजार १११, यज्ञबहादुर बस्नेतबाट २५ हजार १११, मदनबहादुर केसीबाट २५ हजार १, विणीदत्त घिमिरे र पार्वती घिमिरेबाट २५ हजार तथा डा कैलाशनाथ साहुबाट २५ हजार प्राप्त भएको उनले बताए ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले नगद, क्युआर र चेक बाहेक केही दाताहरुले वैकुण्ठधाम निर्माणको लागि आफ्नो आर्थिक सहभागीता रहने प्रतिबद्धता आएको बताए । वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको उनले बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

  • २८ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech