२१ मंसिर २०८१, शुक्रबार

नेपालगञ्जस्थित हडियाबाबा मन्दिर परिसर साधुसन्तले भरियो

करिब २० कठ्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला

  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ ।  हडियाबाबा मन्दिर परिसर यतिबेला साधु सन्तले भरिएको छ । चिसो मौसमको बेवास्ता गर्दै साधु सन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा रमाइरहेका छन् ।

हडियाबाबा मन्दिरमा गत मङ्सिर २ गतेदेखि सुरु भएको छ दिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट आठ सयभन्दा बढी साधु तथा सन्तहरू उपस्थित भएको हडिया बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बैशले जानकारी दिए ।

“रातिको समयमा पनि साधु सन्तहरू मन्दिर परिसरमा आगो तापेर भजनकिर्तनमा रमाउने गर्नुहुन्छ,” अध्यक्ष बैशले भने, “मेलामा प्रत्येक दिन उपस्थित साधु, सन्त तथा हडियाबाबाका मेलामा दैनिक उपस्थित हुने १५ सय बढी भक्तजनहरुलाई बिहानमा चिया, हलुवा, चना दिउँसोमा दाल, भात, तरकारी, रोटी र साँझमा पुरी तरकारीको भोजन खुवाइरहेको उनले बताए ।

करिब २० कठ्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । चारैतिर पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।

करिब एक सय वर्षअघि नेपालगञ्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको बस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहिआएकाले बाँकेका साथै भारतका विभिन्न क्षेत्रबाट साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरू प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेको अध्यक्ष बैशले बताए ।

मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधु सन्त बस्न मिल्ने संरचना तथा बगिया रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पूण्यतिथिमा मेला लाग्ने प्रचलन रहेको छ । अध्यक्ष वैशका अनुसार मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ ।

रामलीला धार्मिक नाटकसमेत मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको समेत ठुलो सङ्ख्यामा उपस्थिति हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद ग्रहण गर्न नेपालगन्जका विभिन्न स्थानका साथै टाढा टाढाबाट समेत झक्तजनहरु आउने गरेको वैशले बताए ।

धार्मिक मेलाको अन्तिम दिन शुक्रबार आश्रममा आएका सबै साधु सन्तलाई भोजन गराएर कम्बल र दक्षिणा प्रदान गरेर पठाइने अध्यक्ष वैशले बताए । मेला अवधिभर करिब ४० हजार भक्तजनले मेलाको अवलोकन गर्ने उनको भनाइ छ ।

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech