कोहलपुर \प्रथम खोखो विश्वकप फाइनलमा पुगेर इतिहास रच्न सफल नेपाली खोखो खेलका राष्ट्रिय खेलाडीहरू कोहलपुरमा निराश मुद्रामा भेटिए।भारतमा आयोजित खो-खो विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै उपविजेता बनेर फर्किएका एक खेलाडीको कोहलपुर बसपार्कमा मेडल, पासपोर्टलगायतका महत्वपूर्ण सामान चोरी भएको छ।
उपविजेता को उपाधि हासिल गरेर स्वदेश फर्कने क्रममा काठमाडौँ विमानस्थलमा जुन सम्मान खेलाडीहरूमा गरियो यसबाट हामी उत्साहित बनेका थियौँ। तर कोहलपुर बसपार्कमा खेलाडीको मूल सम्पत्ति नै चोरी भएपछि हामी विक्षिप्त बनेका छौं। खोखो राष्ट्रिय खेलाडी दिपाविक ले दुखेसो पोखिन्। प्रथम खोखो विश्वकपको फाइनलमा सहभागी अर्की खेलाडी गीता चौधरी पनि निराशा मुद्रामा देखिन्।
राष्ट्रको लागि ऐतिहासिक उपलब्धि हासिल गरेर फर्कने क्रममा खेलाडी साथीको मूल सम्पत्ति मेडल सहित नागरिकता पासपोर्ट खेलपोसाक सहित झोला चोरी हुनु दुःखद पक्ष हो। खेलाडीहरूको मूल सम्पत्ति मेडल सहित अन्य सामग्री चोरी हुनु खेलाडी तथा राष्ट्रमाथिकै अपमान हो।
नेपाल राष्ट्रिय खोको सङ्घका केन्द्रीय उपाध्यक्ष छत्रशाही बताउँछन्। ग्रामीण भेगबाट सुरु भएको खोखो खेलले अन्तर्राष्ट्रिय क्षेत्रमा फरक पहिचान बनाउन सफल खेलाडीहरूलाई आम नेपाली जनबाट धन्यवाद ज्ञापन हुनुपर्नेमा खेलाडीको मूल सम्पत्ति नै चोरी भएको छ। सरोकारवाला निकायहरू यस विषयमा संवेदनशील बन्नुपर्छ।
यस घटनाले खेल क्षेत्रमा क्रियाशील व्यक्तिहरूमा निराशा छाएको छ। एक तर्फ देशको नाम राखेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्ने खेलाडीले यस्तो अप्रिय घटनाको सामना गर्नुपरेकोमा खेल क्षेत्रका व्यक्तिहरू दुःखी भएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । भारतमा सम्पन्न प्रथम विश्वकपको उपविजेता बन्न सफल खेलाडीहरू मध्येका पुरुष तर्फका खेलाडी विकराल सिंह रजगैयाको मेडल सहित अन्य सामग्रीहरू कोहलपुर बसपार्क क्षेत्रबाट बिहीबार चोरी भएको थियो ।