बाँके\नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान पुनः थालिएको बताएका छन।
अभियानअन्तर्गत माओवादी केन्द्र बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विगतमा जनताको भावना बुझ्न नसकेकाले अहिले भूगोलमै पार्टी नेतृत्व खटिएको उल्लेख गरे ।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको नागरिक अन्तरसंवाद कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र अब्दुल वाहिद मन्सुरी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणी आचार्य, अधिकारकर्मी भोला महत, जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्मा, पत्रकारहरू जे पाण्डे, झलक गैरे, शरण कर्माचार्य लगायतले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले राजनीतिक दल र नेता सच्चिनुपर्ने सुझाव दिएका थिए ।