२१ बैशाख २०८२, आईतवार

सरकारी सेवामा आरक्षण तथा शिक्षामा समान अवसर सुनिश्चित:मुख्यमन्त्री आचार्य
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायकाे सरकारी सेवामा प्रवेशकालागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेकाे बताए ।नेपाल मुस्लिम इत्तेहाद संगठनकाे सातौँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन कार्यक्रमलाई शनिबार बाँकेमा सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले उपलब्ध अवसरहरूकाे सदुपयोगमा ध्यान दिन आग्रह गरे ।

प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा मुस्लिम समुदायकाे ७ प्रतिशत आरक्षण सुनिश्चित गरेको उल्लेख गर्दै उनले ती अवसरहरूकाे पूर्ण सदुपयोगका लागि अपिल गरे ।`मुस्लिम समुदायकाे सरकारी सेवामा प्रवेशका लागि अधिकारकाे सुनिश्चितता गरेका छौँ । प्रदेश सरकारले लोक सेवामा ७ प्रतिशत आरक्षणकाे व्यवस्था गरेको छ´उनले भने-`यो अवसर सदुपयोगका लागि शिक्षामा ध्यान दिन जरुरी छ । छोरा छोरीलाई बराबरी अवसर दिन जरुरी छ । यसका लागि परिवारबाट नै सुधार गर्न जरुरी छ ।´

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मदरसा शिक्षामा सुधार ल्याउनका लागि लगानी गरेको र महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको जानकारी दिँदै अझै पनि छोरीहरूले पढाइमा समान अवसर नपाउनु चिन्ताको विषय भएको बताए ।`प्रदेश सरकारले शिक्षामा पहुँच बढाउन मदरसाहरूको सुधारमा लगानी गरेको छ । महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको छ´ उनले भने-`छोरीहरूलाई विद्यालय पठाउन जरुरी छ । छोरा छोरीलाई बराबरी महत्व दिएर शिक्षामा अवसर दिनुपर्छ ।´

लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणकाे दर उच्च रहेको र यी समस्या मुस्लिम तथा पिछडिएको समुदायमा बढी देखिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सुधारका लागि सरकारले थालनी गरेका अभियानहरूमा सहभागिताको आह्वान गरे । `के कारणले यस्तो अवस्था आयो, कारण बुझ्न जरुरी छ´उनले भने-`बाल विवाहलाई निरुत्साहित गर्न जरुरी छ । यसमा मुस्लिम समुदायका नेतृत्व बढी जिम्मेवार भएर ध्यान दिन जरुरी छ ।´

  • २० बैशाख २०८२, शनिबार प्रकाशित

  • Nabintech