२७ बैशाख २०८२, शनिबार

दलित ज्ञान उत्सव सुरू,
  • न्युज मानसराेवर

रुपन्देही\रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दोस्रो संस्करणका रुपमा ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ सुरु भएको छ । स्थानीय सरकारको सक्रियतामा दुईदिने ज्ञान उत्सवको पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले शुक्रबार उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर मानव मर्यादाको नगरका रुपमा आफूलाई उभ्याउन सफल भएको भन्दै अब व्यवहारमै विभेद अन्त्य गर्ने अभियानमा लाग्न अपिल गरे ।

उनले समतायुक्त, सुसंस्कृत र मानव मर्यादाको समाज निर्माणले मात्रै मुलुक समृद्ध बन्ने बताए। उनले संविधानले भेदभाव र छुवाछुत अन्त्यका लागि कानुन नै बनाएर दण्डित गरेको बताउँदै तिलोत्तमा नगरपालिकाले त्यही विषयमा केन्द्रीत भएर उत्सवका रुपमा कार्यक्रम गर्नु निकै सकारात्मक रहेको बताए ।

नेपाली समाज सहिष्णु, सद्धभाव र मानवमर्यादा राख्ने खालको भएकाले जातीय भेदभावजस्तो कुसंस्कार अन्त्य गर्नुपर्ने उनले बताए । ‘समाज अगाडि बढ्ने हो, विभेदलाई अन्त्य नगरी मानवमर्यादाको समाज बन्दैन,’ विश्वकर्माले भने, ‘तिलोत्तमाले त्यही सभ्य समाज निर्माणका लागि ऐतिहासिक कार्यक्रम गरेको छ ।’

पूर्वमन्त्री विश्वकर्माले तराई–मधेशका दलित समुदायको जीवन निकै कष्टकर रहेकाले सुरक्षित आवास कार्यक्रम शुरु गरिए पनि त्यो अझै प्रभावकारी हुन नसकेको बताए ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई मानवताको सहर बनाउने अभियानअन्तर्गत ज्ञान उत्सवको आयोजना गरिएको बताए ।

उनले तिलोत्तमा नगरभित्र जातको आधारमा छुवाछुत गरेमा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाए ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा र दलित ज्ञान उत्सव मानवताको शहर बनाउने दीर्घकालिन योजनासँग जोडिएको बताए। उनले केन्द्रीकृत राज्य व्यवस्थाले सृजना गरेका भेदभाव र संविधानले उल्लेख गरेका व्यवस्थालाई कार्यान्वयनका लागि उत्सवले बहसमा ल्याउने विश्वास व्यक्त गरे ।

दलित समुदायले इतिहासदेखि वर्तमानसम्म र उनीहरुको साहित्य, कला, संस्कृति र दर्शन, जातीय समानताको सन्देश, युवा सशक्तिकरण, साँस्कृतिक संरक्षण र सहभागिताका विषयमा वहस गरिएको सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बताए ।

उनका अनुसार पहिलो दिन शुक्रबार लुम्बिनी प्रदेशमा दलित अधिकार ऐन र राजनैतिक दलको भूमिका, राजनैतिक दल र दलित सशक्तिकरणको सवाल, दलित र उद्यमशिलता, विभेद विरुद्ध कविता र गीतसंगीत प्रस्तुत गरिएको छ।यस्तै शनिबार सामाजिक रुपान्तरणमा युवा, संघीयतामा दलित सवाल र प्रतिनिधित्व, स्थानीय सरकारमा दलितमैत्री बजेट र प्रशासनिक संयन्त्रमा समावेशिता विषयमा वहस हुने छ। ज्ञानउत्सवमा विभेदविरुद्ध चित्रकला समेत प्रस्तुत गरिएको छ ।

कार्यक्रममा तिलोत्तमा नगरका जनप्रतिनिधि, टोल विकास समिति, राजनैतिक दलका नेता, सामाजिक अगुवाहरुको सहभागिता रहेको छ ।
उत्सवकै अवसरमा तिलोत्तमा नगरपालिकाको दलित पाश्र्वचित्र र दलित विकास रणनितिको विमोचनसमेत गरिएको नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक एवंं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।

  • २६ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech