३ माघ २०८२, शुक्रबार

कोहलपुर महोत्सव सफल बनाउन १५ वटै वडाध्यक्षहरूको सामूहिक प्रतिबद्धता
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर महोत्सव-२०८२ लाई भव्य रुपमा सफल बनाउन कोहलपुर नगरपालिकाका १५ वटै वडाका वडाध्यक्षहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न छलफल कार्यक्रममा बोल्दै वडाध्यक्षहरूले महोत्सवलाई नगरको साझा उत्सवका रूपमा स्थापित गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय र सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा सहभागी वडाध्यक्षहरूले महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गरे । उनीहरूले स्थानीय उत्पादनको प्रवर्द्धन, नागरिक सहभागिता तथा समुदायस्तरको सहकार्यलाई प्राथमिकतामा राखेर महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन ।

स्थानीय उद्यमी तथा साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने खालका गतिविधिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दै सहभागीहरूले स्थानीय वस्तु, कृषि उपज, हस्तकला तथा परम्परागत खानाको पहिचान र प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

छलफल कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदिप भट्टराईले महोत्सव सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए ।उनले स्थानीय जनप्रतिनिधिहरूको साझा प्रतिबद्धताले कोहलपुर महोत्सव२०८२ लाई सफल र अनुकरणीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै वडाध्यक्षहरूको सक्रियताप्रति खुशी व्यक्त गरे ।

  • ५ पुष २०८२, शनिबार प्रकाशित

  • Nabintech