२६ पुष २०८२, शनिबार

कोहलपुर महोत्सवमा नागरिकलाई सास्ती
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर–११ का चन्दबहादुर विक अपांगता भएका व्यक्ति हुन् । उनी ह्वीलचियरको सहायताले एक ठाउँदेखि अर्को ठाउँमा ओहोरदोहोर गर्छन् । आइतबार दिउँसो हरियाली मार्ग क्षेत्रमा भेटिएका उनी भन्दै थिए, ‘कामले बजार आएको थिए । यहाँ त बाटो बन्द गरिएको रहेछ । अपांगता भएको मान्छे । अरुको सहायतामा हिड्नुपर्छ । फेरि फर्र्केर आउनुप¥यो ।’

महोत्सवका नाममा सडक बन्द गरिएको सुनेको भन्दै आफू जस्ता सयौँ अपांगता भएका व्यक्तिहरूलाई असहज भएको बताए । महोत्सवका नाममा सार्वजनिक सडक बन्द गरिनु राम्रो नभएको विकको भनाइ थियो । यस्तै कैलालीका भरत बोहोरा बिरामी आफन्त भेट्न कोहलपुर आएका थिए । चौराहाबाट हरियाली मार्गको बाटो हुँदै नेपालगन्ज मेडिकल कलेज जान लागेका थिए ।

महोत्सवको नाममा बाटो बन्द गर्दा आफूले सास्ती भोग्नु परेको बताउँदै उनले आफूले अनावश्यक दुःख पाएको बताए । उनले भने, ‘म कैलालीबाट आएको हो । बिरामी भेट्नुपर्ने काम छ । छोटो बाटो जान खोजेको थिए । बाटो बन्द रहेछ । फेरि फर्किनुपर्ने भयो । बाटो बन्द हुँदा आफ्नो महत्वपूर्ण समय खेर भयो ।’ महोत्सवका नाममा सडक बन्द गर्ने कार्य उचित नभएको उनको भनाइ छ । यी त प्रतिनिधि पात्रमात्र हुन् । कोहलपुर महोत्सवका नाममा यहाँका दुई महत्वपूर्ण सडक बन्द गरिएपछि नागरिकस्तरबाट तीव्र आचोलना सुरु भएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघले स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायको संरक्षणमा दुई मुख्य चल्तीका सडक बन्द गरेपछि चौतर्फी आलोचना सुरु भएको हो । यहीँ पुस ९ गतेदेखि सञ्चालन हुने कोहलपुर महोत्सवमा व्यापारिक प्रयोजनका लागि सडक नै बन्द गरिएपछि आयोजक र कोहलपुर नगरपालिकाविरुद्ध स्थानीयस्तरबाट तीव्र रूपमा आलोचना भएको छ । निहित स्वार्थका लागि सञ्चालन हुने मेला महोत्सवका लागि स्थानीय सरकारले बाटो बन्द गर्न अनुमति दिनु दुःखद भएको भन्दै तत्काल बन्द सडक खोल्नुपर्ने उनीहरूको भनाइ छ ।

सडक बन्दका विषयमा कोहलपुरका विभिन्न क्षेत्रमा रहेका वेथितिविरुद्ध शसक्त आवाज उठाउँदै आएका स्थानीय अभियन्ता भूमबहादुर भण्डारीले सडक बन्दका विषयमा कवितात्मक शैलीमा विरोध जनाएका छन् । व्यंग्य मिश्रित शैलीमा उनी लेख्छन्, ‘सडक बाटो बन्द गर्ने सरकार यहीँ छ । बाइपास बन्द नदेख्ने पुलिस यहीँ छ । अराजकता मच्चाएर स्वार्थ पूरा गर्नेहरू धेरै छन् ।’ कोहलपुर नगरपालिकाले आफैँले निर्माण गरेको मेला महोत्सव सञ्चालन तथा व्यवस्थापन कार्यविधि विपरित स्वार्थपूर्ण रूपमा सडक बन्द गर्न सहयोग गरेको उनले आरोप लगाएका छन् ।
स्थानीय शंकर न्यौपाने मेला महोत्सवका नाममा सार्वजनिक सडक नै बन्द गर्नु किमार्थ सह्य कार्य नभएको बताउँछन् । उनी भन्छन्, ‘फुटपाथमा व्यवसाय गरी गुजारा गरेका निमुखा जनताको सामग्री जफत गरिन्छ । ठेलागाडा चलाएर जीवन निर्वाह गर्नेको ठेला जफत भएको ताजै छ । फोटो खिचेर जहान पाल्नेलाई प्रतिबन्ध लगाएको पनि ताजै छ । कोहलपुरमा निमुखालाई मात्रै ऐन लाग्ने हो । मेला सञ्चालकलाई सार्वजनिक बाटो मुलबाटो बन्द गर्न अनुमति दिने । यो कस्तो न्याय हो सरकार ?’

उनले बन्द बाटो तत्काल खोलिनुपर्ने मागसमेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले कोहलपुरका सकारात्मक कार्यमा सधैँ साथ दिदैँ आएको स्मरण गर्दै गलत कार्यको समर्थन गर्न नसकिने समेत बताएका छन् । कोहलपुर नगरपालिकाका नागरिकको चाहना मेलामार्फत मनोरञ्जन नभई विकास, समृद्धि, सुशासन र पारदर्शी हुनुपर्ने स्थानीय न्यौपानेको भनाइ छ ।

अर्का स्थानीय डिल्ली पोखरेलले पनि सार्वजनिक सडक बन्दले कोहलपुर उद्योग वाणिज्य संघको गरिमामा आँच पु¥याएको बताएका छन् । संघले नै सार्वजनिक हित विपरीत सडक नै बन्द गरेर मेला आयोजना गरिनु कोहलपुरको लागि दुःखद रहेको बताए । उनले भने, ‘यो दृश्यले सिंगो कोहलपुरलाई गिज्याइरहेको छ । आयोजक संस्था र स्थानीय सरकारको समयमै ध्यानाकर्षण होस् । यस्ता कार्यले कसैको कद बढ्दैन । सानो ठेला राख्दा हडप्न जाने नगर प्रहरीको पनि ध्यान जाओस् ।’

यसैगरी युवा लालबहादुर खड्का सडक बन्द गर्नु उचित नभएको बताउँछन् । उनका अनुसार आफूहरूले संघलाई सडक बन्दका विषयमा यसअघि नै ध्यानाकर्षण गराइएको थियो । सार्वजनिक सडक बन्द गर्ने छुट कसैलाई पनि नभएको भन्दै तत्काल कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघले यस्तो कार्य सच्याउनुपर्ने माग गर्छन्, अर्का युवा सुमन घिमिरे ।

सडक बन्दका विषयमा चौतर्फी आलोचना सुरु भएपछि आयोजक कोहलपुर उद्योग वाणिज्य संघले सार्वजनिक अपील नै जारी गरेको छ । महोत्सव मूल आयोजक समितिले एक अपील जारी गर्दै भनेको छ, ‘महोत्सव आयोजना गर्ने क्रममा स्थल व्यवस्थापन, प्रदर्शनी कक्ष, स्टल, मञ्च, सुरक्षा, सरसफाइ तथा दर्शक व्यवस्थापनका लागि आवश्यक पर्याप्त क्षेत्रफल उपलब्ध नहुँदा बाध्यात्मक अवस्थामा भित्री नगर विकासका बाटो तथा आसपासका क्षेत्रहरू अस्थायी रूपमा प्रयोग गर्नुपरेको जानकारी गराउन चाहन्छौँ ।’

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले दैनिक आवागमन, व्यापार–व्यवसाय, सवारी साधन सञ्चालन तथा स्थानीय बासिन्दाको दिनचर्यामा केही असुविधा उत्पन्न हुन सक्ने कुराप्रति महोत्सव मूल आयोजना समिति पूर्णरूपमा सचेत र संवेदनशील रहेको बताए।उनकाअनुसार सो असुविधालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरी, सुरक्षा निकाय, कोहलपुर नगरपालिका, वडा कार्यलय तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरी वैकल्पिक मार्गको व्यवस्था, सवारी व्यवस्थापन,सुरक्षा निगरानी, आपतकालीन सेवा तथा सरसफाइलाई प्राथमिकतामा राखेर कार्य भइरहेको छ ।
‘महोत्सवका नाममा जनताको अधिकार खोसियो’ भूमबहादुर भण्डारी 

कोहलपुर महोत्सवको नाममा बाटो बन्द गरिनु जनताको अधिकार हनन् गर्नु हो । यस्तो कार्य तत्काल रोक्नुपर्छ । स्थानीय सरकारले यस्ता कार्य बन्द गराउन लगाउनुपर्छ । निहीत स्वार्थका लागि सडक बन्द गर्ने कुरा संविधान विपरित छ । यसविरुद्ध शसक्त आवाज उठाउन आवश्यक छ । सबै मिलेर शसक्त प्रतिरोध आवश्यक छ भण्डारीको भनाइ रहेको छ ।

  • ७ पुष २०८२, सोमबार प्रकाशित

  • Nabintech