२६ पुष २०८२, शनिबार

बाँकेमा सात करोड बढीको धान खरिद
  • न्युज मानसराेवर

बाँके\खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानसँग धान खरिदको कोटा पूरा गरेको छ । खाद्यले यस वर्ष २० हजारभन्दा बढी क्विन्टल धान खरिद गरेको छ ।

यस वर्ष नेपालगन्ज कार्यालयले धान खरिदका लागि १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्ययम गरी जम्मा २० हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । जसमध्ये खाद्यले प्राप्त कोटाभन्दा केही बढी धान खरिद गरेको हो ।

गत कात्तिक २३ गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले १५ हजार २९४ दशमलव ५० क्विन्टल मोटा धान र ४ हजार ९९९ दशमलव ७० क्विन्टल मध्यम गरेर जम्मा २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद गरेको हो ।

यस वर्ष बाँकेका किसानहरूसँग १५२९४.५० क्विन्टल मोटा धान र ४९९९.७० क्विन्टल मध्यम गरी जम्मा २०२९४.२० क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी गराए ।  लामिछानेका अनुसार मोटा धान ५ करोड २९ लाख ७७ हजार २४२ रुपियाँ र मध्यम धान १ करोड ८१ लाख ४० हजार ५६१ गरी जम्मा ७ करोड ११ लाख १७ हजार ८०३ रुपियाँको धान खरिद गरिएको छ ।

मोटा धानको तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको लामिछानेले जानकारी गराए ।

गत वर्ष ४० हजार धान खरिद गर्ने कोटा पाएको यस कार्यालयले मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएकोमा ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।

  • ८ पुष २०८२, मंगलवार प्रकाशित

  • Nabintech