इटहरी – नेपाली मौलिक तथा सांस्कृतिक पोशाकको संरक्षण, प्रबर्द्धन र सम्मान गर्ने उद्देश्यले समता स्कुल पूर्वी कन्सोर्टियमको अग्रसरतामा आयोजना हुँदै आएको ‘Cultural Dress Fiesta’ यस वर्ष पनि उत्साहपूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमले नेपालको बहुसाँस्कृतिक पहिचान र विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेको आभास दिएको छ।

पूर्वी कन्सोर्टियम अन्तर्गतका समता स्कुलहरूले विद्यार्थीहरूमा आफ्नै जात, धर्म, संस्कृति र क्षेत्रसँग सम्बन्धित मौलिक पहिरनको महत्व बुझाउने उद्देश्यले यस कार्यक्रमलाई आफ्नो वार्षिक कार्यतालिकामा समावेश गर्दै आएका छन्। बर्षमा एक दिन विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई आ–आफ्नो सांस्कृतिक पहिरनमा विद्यालय उपस्थित हुन प्रेरित गरिएको हो।

कार्यक्रमको अवसरमा विद्यार्थीहरू विभिन्न जातीय तथा सांस्कृतिक पोशाकमा सजिएर विद्यालय उपस्थित हुँदा सम्पूर्ण विद्यालय परिसर उल्लासमय देखिएको थियो। विशेषगरी बिहानको प्रार्थना सभा रंगीन फुलबारीझैँ आकर्षण बनेको थियो।
यसै सन्दर्भमा समता स्कुल इटहरीका निमित्त प्रधानाध्यापक विपुल ओझाले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पारेको अनुभव सुनाउँदै भने, “दिनहुँ लगाइने विद्यालय पोशाकभन्दा फरक, त्यसमा पनि आफ्नै संस्कृति झल्कने पोशाक लगाउन पाउँदा विद्यार्थीहरूमा विशेष उत्साह देखिएको अनुभव गरें। नानीहरु निकै उत्साहित छन्।”

कार्यक्रम समता स्कुल इटहरी, इलाम र दमकमा आज एकैसाथ सम्पन्न भएको हो। यद्यपि स्थानीय बिदाका कारण पूर्वी कन्सोर्टियम अन्तर्गतका अन्य विद्यालयहरूमा भने विद्यालय खुल्नासाथ यस कार्यक्रमलाई प्राथमिकताका साथ आयोजना गरिने जानकारी कन्सोर्टियम प्रमुख सन्तोष श्रेष्ठले दिएका छन्।
विद्यालयस्तरमा आयोजना हुने यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।










