काठमाडौं – न्यून तथा मध्यम वर्गीय परिवारका बालबालिकालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा प्रदान गर्ने उद्देश्यले सन् २००१ मा काठमाडौँको जोरपाटी नयाँ वस्तीमा स्थापित समता स्कुल आज २६औँ वर्षमा प्रवेश गरेको छ।
![]()
शिक्षासेवी उत्तम सञ्जेलको अगुवाइमा “सबैका लागि शिक्षा” भन्ने मूलमन्त्र बोकेर सञ्चालनमा आएको यस विद्यालयले स्थापनाकालदेखि नै नर्सरीदेखि स्नातकोत्तर सम्म सबै कक्षाका विद्यार्थीलाई मासिक जम्मा एक सय रुपैयाँमा अंग्रेजी माध्यमको पठनपाठन गराउँदै आएको थियो। कोरोना महामारीपछि भने स्थानीय अभिभावकहरूसँगको समन्वयमा शुल्कमा आंशिक परिमार्जन गरिएको विद्यालयले जनाएको छ।
विगत पच्चीस वर्षको यात्रामा समता स्कुलले हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र संस्कार प्रदान गर्दै शैक्षिक क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाउन सफल भएको छ। अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षकशिक्षिका, नियमित अतिरिक्त क्रियाकलाप तथा नैतिक शिक्षामा विशेष जोड दिँदै विद्यालय सञ्चालन हुँदै आएको छ। हाल देशका अधिकांश जिल्लाहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको समता स्कुलले शैक्षिक उपलब्धिका साथसाथै सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ।

२६ औँ वर्षमा प्रवेशसँगै विद्यालयले देशभरका समताअ स्कुलहरुमा आधुनिक शिक्षण विधि, प्रविधिमैत्री कक्षाकोठा र विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी दिनमा पनि गुणस्तरीय, सुलभ र संस्कारयुक्त शिक्षा प्रदान गरी राष्ट्रका सक्षम नागरिक उत्पादन गर्ने लक्ष्यसहित विद्यालय अगाडि बढिरहेको सम्बन्धित पक्षले जनाएका छन्।
समता स्कुल र यसका सदस्यद्वारा निर्माण गरिएका भिडियोहरू हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्। अवश्य हेर्नुहोस्!
https://youtube.com/playlist?list=PLqWtLIi1EaB-7iuFDKayJSkBBgCkx9qPp&si=VqT3qZEZXNHtaAnx









