२४ फाल्गुन २०८२, आईतवार

इटहरीमा अन्तर समता गायन तथा नृत्य प्रतियोगिताको छैठौं संस्करण हुने
  • न्युज मानसराेवर

इटहरी – समता स्कुल पूर्वी कन्सोर्टियमको आयोजनामा हुँदै आएको अन्तर समता गायन तथा नृत्य प्रतियोगिताको छैठौं संस्करण यहि फागुन ८ गते समता स्कुल इटहरीमा आयोजना हुने भएको छ।

विद्यार्थीहरुको चौतर्फी विकासमा ध्यान दिँदै विविध १९ वटा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको समता पूर्वी कन्सोर्टियमले गत महिनादेखि नै यस प्रतियोगिताको अडिसन र मेगा अडिसन सम्पन्न गरिसकेको छ। हाल डिजिटल राउन्ड सञ्चालन भइरहेको र यसबाट छनौट हुने करिब ४७ जना प्रतियोगीबीच गायन तथा नृत्यको ४ शीर्षकमा फाइनल प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा इलाम, झापा, मोरङ, सिरहा र सुनसरीका समता स्कुलहरूमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ। एकल गायन, एकल नृत्य, युगल गायन र सामूहिक नृत्यको प्रतिस्पर्धा हुनेछ। साथै सोही अवसरमा पहिलो पटक अन्तर समता उद्घोषण प्रतियोगिता (Mic Master – Season 1) समेत आयोजना हुने पूर्वी कन्सोर्टियमका खेलकुद प्रमुख कमल सिङ्तानले बताए।

कन्सोर्टियम प्रमुख सन्तोष श्रेष्ठले आगामी वर्षहरूमा अन्तर समता प्रतियोगितामा अन्य विधाहरू समावेश गर्नुका साथै सहभागी विद्यालयको संख्या बढाई यस्ता कार्यक्रम अझै फराकिलो बनाइने योजना रहेको बताए।

यसै अवसरमा समता स्कुल इटहरीले विद्यालयको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम समेत आयोजना गर्ने भएको छ। विद्यालयको १४ औं वार्षिकोत्सव भएकाले १४ वटा फरक फरक शीर्षकमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई पुरस्कृत गर्ने कार्यतालिका रहेको कार्यक्रमका संयोजक तथा समता इटहरीका सहायक प्रिन्सिपल विपुल ओझाले बताए।

कार्यक्रममा विद्यार्थी, शिक्षक सहित केही स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, विद्यार्थीहरूको कला तथा विज्ञान प्रस्तुति, फुड स्टल लगायतका गतिविधि समावेश हुनेछन्।

  • ५ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • Nabintech