इटहरी – समता स्कुल इटहरीको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम र समता स्कुल पूर्वी कन्सोर्टियमको आयोजनामा छैठौं अन्तर समता गायन तथा नृत्य प्रतियोगिता फागुन ८ गते सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १२०० भन्दा बढिको उपस्थिति रहेको थियो।

इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेशकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समता स्कुल इलामका संरक्षक तथा वरिष्ठ कवि बिमल वैद्य, समता पूर्वी कन्सोर्टियम अन्तर्गतका विद्यालय प्रमुखहरू, समता स्कुल पोखराका संयोजक उमेश रेग्मी, बेबिलोन स्कुल इटहरीका प्रिन्सिपल कुसुम राई, गोक्यो स्कुल इटहरीका प्रिन्सिपल कमल पोखरेल, युनिक शिशु सदन उदयपुरकी विद्यालय संयोजक अञ्जली गुरुङ, समाजसेवी तथा पत्रकारहरूसहित ४०० भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो।

१४ विधामा सम्मान तथा पुरस्कार
समता स्कुल इटहरीले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई १४ फरक फरक विधामा सम्मानित गरिएको थियो। उत्कृष्ट अभिभावकको रूपमा पर्वती पुरी, Student of the Year को रूपमा कक्षा ९ की मनिता राई र Community Choice शिक्षकको रूपमा सरोज कार्कीले पुरस्कार प्राप्त गरे।
कार्यक्रममा १० वर्षभन्दा बढी अध्यापनरत शिक्षकहरूलाई विशेष सम्मान गरिएको थियो। नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गरेका विद्यार्थीका अभिभावकहरू र पूर्वी कन्सोर्टियमका संस्थापक सदस्यहरू देवेन्द्र पौडेल र कमल सिङ्तानलाई पनि विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको कक्षागत नृत्य, गायन तथा कला प्रस्तुति, फुड स्टल र विज्ञान कला प्रदर्शनीमा अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रमुख अतिथि तथा अन्य अतिथिहरूले समता स्कुलले सम्पूर्ण कक्षामा समान न्यून शुल्कमा अध्यापन गराएर पृथक र सराहनीय काम गरेको भन्दै प्रशंसा गरे।

अन्तर समता प्रतियोगिता
समता पूर्वी कन्सोर्टियमको संयोजकत्वमा सम्पन्न छैठौं अन्तर समता गायन तथा नृत्य प्रतियोगितामा इलाम, झापा, लहान, विराटनगर र इटहरीका विविध विधामा ५३ जना प्रतियोगीहरूबीच प्रतिस्पर्धा भएको थियो।
एकल गायन, एकल नृत्य, युगल गायन र सामूहिक नृत्यतर्फ सबै विधामा इटहरीका प्रतिस्पर्धीहरूले प्रथम स्थान हासिल गरे भने इलामका प्रतियोगीहरूले द्वितीय स्थान प्राप्त गरे। एकल नृत्यतर्फ दमककी प्रतिभा फुयालले तृतीय स्थान हासिल गर्दा अन्य विधामा लहानका प्रतियोगीहरू तृतीय भए।
सोही अवसरमा पहिलो पटक आयोजित उद्घोषण प्रतियोगिता (Mic Master – Season 1) मा इटहरीकी मेलिना फुयाल प्रथम, इलामका अन्वेश चम्लागाइँ द्वितीय र लहानकी साक्षी साह तृतीय भए।
प्रतियोगिताको निर्णायकमा गायनतर्फ दिपेन्द्र राई, नृत्यतर्फ मनोज खड्का र उद्घोषणतर्फ विशाल आले मगर रहेका थिए।

कन्सोर्टियम प्रमुख सन्तोष श्रेष्ठले समता पूर्वी कन्सोर्टियमले हरेक वर्ष आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरूको चौतर्फी विकासका लागि अन्तर जिल्ला प्रतियोगिताहरू आयोजना गर्दै आएको र यसले विद्यार्थीहरूको क्षमता निखार्न मद्दत पुगेको बताए।
कार्यक्रम सप्तकोशी टेलिभिजनसहित समता इटहरीको फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो।










